मूत्रथैली कति भरिएपछि पिसाब लाग्छ ?

    मानिसको पिसाबथैलीमा कति पिसाब जम्मा भएपछि पिसाब लाग्छ भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । कसैले छिटोछिटो पिसाब फेरिरहेका हुन्छन् भने कसैले घण्टौंसम्म पनि पिसाब फेरेका हुँदैनन् ।

    पानी वा झोल पदार्थको मात्राका आधारमा पिसाब ढिलो वा चाँडो हुनु स्वभाविक नै हो, तर साधारणतया कति एमएल पिसाब जम्मा भएपछि पिसाब लाग्न थाल्छ त भन्ने प्रश्न उब्जिन्छ । स्वस्थ मानिसलाई पिसाबथैलीमा १५० देखि २०० एमएल पिसाब जम्मा भएपछि पहिलोपटक पिसाब फेर्न मन लाग्छ । त्यसबेला पिसाब फेर्न मिल्ने अवस्था वा ठाँउ भए नभएको बारेमा दिमागले त्यहाँको ‘मसल्र्स’लाई निर्देशन दिन्छ ।

    मस्तिष्कको आदेशानुसार कसैले पिसाब गर्छन् भने कसैले रोकेर बस्छन् । त्यसपछि ३०० देखि ४०० एमएल पिसाब मूत्रथैलीमा जम्मा भएपछि फेरि पिसाब फेर्न मन लाग्छ । त्यतिबेला पिसाब नफेरे फेरि अर्को ५००-६०० एमएलमा पिसाब फेर्न मन लाग्छ । पुरुष र महिलाको पिसाबथैलीको साइज एकै प्रकारको हुन्छ । डेढ लिटरदेखि दुई लिटरसम्म पिसाबथैलीमा अट्न सक्छ ।

    धेरैबेरसम्म पिसाब रोक्ने बानी राम्रो होइन । पिसाबथैली इलास्टिक जस्तो हुने भएकाले धेरै पिसाब जम्मा गरेर मात्रै फेर्ने बानीले थैली खुम्चिने क्षमतामा ह्रास आउन सक्छ । त्यसैले धेरैबेर पिसाब रोक्नु राम्रो मानिंदैन । ४०० एमएल जति पिसाब हुनासाथ पिसाब फेरिहाल्नु राम्रो हुन्छ । पिसाब रोकेर राख्दा नसा र मांसपेशीले बिस्तारै काम नगर्न सक्छन् । खुम्चने प्रक्रियामा समस्या आउन सक्छ । जसले पिसाबलाई बाहिर धकेल्ने काममा सहयोग नगर्न सक्छ ।

    धेरै पिसाब जम्मा पारेको व्यक्ति कतै लडेमा पिसाबथैली नै फुट्न सक्छ । टीबी भएका, प्रोस्टेट भएका वा पिसाबथैलीमा संक्रमण भएका व्यक्तिलाई १०० एमएल पिसाब जम्मा हुन थालेपछि नै पिसाब फेर्न मन लाग्छ ।

    डा. सुदीप केसी
    पिसाबमा संक्रमण विभिन्न कारणले हुन्छ । पुरुषलाई पोस्टेटका कारण पिसाब संक्रमण हुन सक्छ । पिसाबथैली भन्दा तल रहेको युरेथ्राबाट संक्रमण हुँदै थैली र मिर्गौलासम्म पनि पुग्न सक्छ ।

    पुरुषको युरेथ्रा १५ देखि २० सेन्टिमिटर लामो हुन्छ भने महिलाको चारदेखि ६ सेन्टिमिटर मात्रै लामो हुन्छ । पिसाब फेर्ने अंगको राम्ररी सरसपाइ नगर्दा संक्रमण बढ्न सक्छ ।

    पुरुषमा भन्दा महिलामा पिसाबसम्बन्धी संक्रमण बढी हुन्छ । महिलाको दिसा गर्ने ठाँउ र पिसाब गर्ने ठाँउ नजिकै भएकाले भित्री लुगा लामो समयसम्म नफेर्दा पिसाबको संक्रमण बढी हुने सम्भावना हुन्छ ।

    पिसाबथैली र मिर्गौलाको बीचमा करिब २५ सेन्टिमिटर फरक हुन्छ । मिर्गौलासम्म संक्रमण आउन समय लागे पनि पिसाबसम्बन्धी समस्या हुने बित्तिकै चिकित्सकलाई देखाउन सकियो भने मिर्गौलासम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *