मधुमेहलाई सरल भाषामा बुझौं । जब रगतमा आवश्यकताभन्दा बढी चिनी वा ग्लुकोज हुन्छ, त्यस स्थितिलाई मधुमेह (डाइबिटिज) भएको भनिन्छ । मधुमेहलाई कतिपयले चिनी रोग भन्नुको कारण पनि त्यही हो ।
मधुमेह किन हुन्छ ? यसको दुई फरक कारण छन् । त्यही अनुसार मधुमेहलाई ‘टाइप-१’ र ‘टाइप-२’ भनेर छुट्याउने गरिएको छ ।
अब टाइप–१ र टाइप–२ मधुमेह कसरी हुन्छ ? यी दुईमा के भिन्नता छ ? यसमध्ये कुन बढी हानिकारक छ ? यी प्रश्नको जवाफ खोज्नुअघि मधुमेह कसरी हुन्छ भन्ने कुरा बुझौं ।
मधुमेह कसरी हुन्छ ?
हाम्रो शरीरमा एउटा ग्रन्थी हुन्छ, प्याङ्क्रियाज । यसले इन्सुलिन एक नामको हार्मोन उत्पादन गर्छ । हामीले खाएको जुनसुकै खानेकुरा पाचन भएपछि अन्तिममा ग्लुकोजमा परिणत हुन्छ । उक्त ग्लुकोजलाई रगतबाट शरीरको विभिन्न कोषमा पुर्याउन इन्सुलिनले सघाउँछ ।
तर कहिलेकाहीं प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन भने कहिलेकाहीं कम उत्पादन हुन्छ । यसरी इन्सुलिन उत्पादन नहुँदा वा कम उत्पादन हुँदा रगतमा चिनीको मात्रा बढ्न थाल्छ । यसरी रगतमा चिनीको मात्रा बढेपछि त्यसले विभिन्न अंगमा हानि गर्न थाल्छ । यही अवस्थालाई हामी मधुमेह भएको भन्छौं ।
तर सबै मधुमेह एकनास हुँदैन । मूलत: यो दुई किसिमको हुन्छ, टाइप–१ र टाइप–२ ।
किन दुई किसिमको हुन्छ मधुमेह ?
टाइप–१ मधुमेह प्याङ्क्रियाज ग्रन्थीले ‘इन्सुलिन’ कति पनि उत्पादन गर्न नसक्ने अवस्था हो । यसबेला प्याङ्क्रियाज ग्रन्थी पूर्ण रुपमा निष्क्रिय हुन्छ । शरीरको प्रतिरक्षा प्रणालीको समस्या जसलाई ‘अटोइम्युन डिजिज’ भनिन्छ, त्यसैको कारण प्याङ्क्रियाज ग्रन्थी निष्क्रिय हुन्छ । र, इन्सुलिन उत्पादन गर्न असमर्थ हुन्छ ।
त्यसैले टाइप–१ मधुमेह भएका व्यक्तिले सुईका माध्यमबाट ‘इन्सुलिन’ दिनुपर्ने हुन्छ । यस्तो इन्सुलिन दिनदिनै दिनुपर्छ । प्रभावित व्यक्तिको अवस्था हेरेर कसैले दिनमा एक पटक, दुई, तीन वा चार पटकसम्म दिनुपर्ने हुन्छ । यस्तो खालको मधुमेह सानो बच्चादेखि किशोरसम्मलाई हुने जोखिम बढी हुन्छ ।
अब कुरा गरौं टाइप–२ मधुमेहको । टाइप-२ मधुमेह हुँदा प्याङ्क्रियाज ग्रन्थीले इन्सुलिन त उत्पादन गर्छ तर पुग्दो मात्रामा गर्दैन । पुग्दो इन्सुलिनको अभावले गर्दा रगतमा बिस्तारै चिनीको मात्रा बढ्छ ।
टाइप-२ मधुमेह खराब जीवनशैलीको कारण हुने गर्छ । खासगरी अनियन्त्रित खानपानले यसको जोखिम बढाउँछ । यस किसिमको मधुमेह सामान्यतया मुखबाट खाने औषधिले नियन्त्रण गरिन्छ । यदि मधुमेहको स्तर धेरै भएमा इन्सुलिन दिनुपर्ने अवस्था पनि आउन सक्छ ।
यी दुईबाहेक अर्को पनि मधुमेह बेलाबखत देखिन्छ खासगरी गर्भवतीलाई । यस्तो मधुमेहलाई ‘जेस्टेसनल मधुमेह’ भनिन्छ ।
टाइप–१ मा इन्सुलिन कति लिनुपर्छ ?
इन्सुलिन कति लिने भन्ने कुरा प्रभावित व्यक्तिको स्वास्थ्य अवस्था र रगतमा सुगरको मात्रामा भर पर्छ । किनभने व्यक्तिको खानपिन तथा जीवनशैली अनुसार रगतमा सुगरको मात्रा घटबढ हुन्छ । रगतमा सुगरको मात्रा एकदम उच्च भएमा दिनमा तीनदेखि चार पटकसम्म इन्सुलिन लगाउनुपर्ने हुन सक्छ ।
बिहानको खाना खानुभन्दा अगाडि लगाउने एकपल्ट, दोस्रो खाजा खानु भन्दा अगाडि र बेलुकाको खाना खानु भन्दा अगाडि लगाउनुपर्ने हुन्छ । त्यसको अलावा एउटा लामो समयसम्म काम गर्ने खालको इन्सुलिन लगाउनुपर्ने हुन्छ । मिक्स खालको इन्सुलिन हुन्छ, जुन दिनको दुईपटक मात्र लगाए पुग्छ ।
टाइप-२ मधुमेहका बिरामीले चिकित्सकको परामर्शअनुसार मुखबाट खाने औषधि लिन सकिन्छ ।
इन्सुलिनको सुई दिंदा कहाँ दिने ?
पेटको छालामुनि दिएको इन्सुलिन चाँडो रगतमा पुग्छ । तिघ्राको छालामुनि दिएको इन्सुलिन रगतमा ढिला पुग्छ । पाखुराको छालामुनि दिएको इन्सुलिन पेटमा दिएको इन्सुलिनभन्दा ढिलो र तिघ्रामा दिएको इन्सुलिनभन्दा चाँडो पुग्छ । बेलुकाको इन्सुलिनको सुई तिघ्राको छालामुनि दिंदा इन्सुलिन रगतमा बिस्तारै जान्छ र राति अचानक रगतको ग्लुकोज कम हुने सम्भावना हुँदैन ।
दुब्ला मधुमेह रोगीहरूलाई इन्सुलिनको सुई दिंदा मांसपेशीमा परेर इन्सुलिन चाँडो रगतमा पुग्छ । यसर्थ छालालाई च्याप्प उठाई इन्सुलिनको सुई दिनुपर्छ । मोटा मानिसहरूमा इन्सुलिन मासुमा पर्ने सम्भावना हुँदैन । इन्सुलिन बिरामी आफैं वा परिवारका कसैले लगाइदिने गरिन्छ । कति दिनमा सुई परिवर्तन गर्ने, कति मात्रामा लगाउने, दिनको कतिचोटी लगाउने भनेर सिकाएको हुन्छ ।
२४ घण्टासम्म काम गर्ने इन्सुलिन ‘बेसल इन्सुलिन’ हुन्छ । ‘बेसल इन्सुलिन’ दिनको एकपटक लगाएपछि पुग्छ । ‘बोलस इन्सुलिन’ खाना खानुभन्दा अगाडि लिइन्छ । यसले खाना पछाडिको सुगरलाई घटाउँछ ।
टाइप–१ मधुमेहका जोखिम
टाइप-१ मधुमेहमा प्रयोग गरिने इन्सुलिनका राम्रा र नराम्रा दुवै पक्ष छन् । राम्रो पक्षमा इन्सुलिनले छिट्टै उच्च मात्राको सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ भने नकारात्मक असरमा रगतमा सुगरको लेभल स्वाट्टै कम गराउन सक्छ । जसलाई मेडिकल भाषामा ‘हाइपोग्लाइसेमिया (रगतमा सुगरको मात्रा घट्नु)’ भनिन्छ । यसबेला रिंगटा लाग्ने, खलखल पसिना आउने, थर्थराउने, धेरै भोक लाग्ने, प्राणै खुस्केला जस्तो हुने लक्षण देखापर्छ । यस्तो भएमा बिरामीले शरीरमा सुगर लेभल निकै घटेको हुनसक्छ भनेर थाहा पाउनुपर्छ ।
यस्तो परिस्थितिमा रगतमा सुगर लेभल बढाउन १५ ग्राम चिनी पानीमा घोलेर वा १५ ग्राम चकलेट वा अन्य गुलियो खानेकुरा तुरुन्तै खानुपर्छ । त्यसपछि सुगर लेभर कति छ भनेर जाँच गर्नुपर्छ । यथेष्ट मात्रामा सुगर बढेको छैन भने १५ मिनेट पछाडि फेरि १५ ग्राम गुलियो खानेकुरा खानुपर्छ । जबसम्म सुगर लेभल सामान्य हुँदैन, तबसम्म १५ मिनेटमा जाँच गर्ने र १५ ग्राम गुलियो खानेकुरा खाने गरिरहनुपर्छ । प्रायजसो इन्सुलिन लगाउनुपर्ने बिरामीलाई यस्तो समस्या बारम्बार हुने गर्छ ।
टाइप-२ मधुमेहका बिरामीमा ‘हाइपरग्लाइसेमिया अर्थात् सुगरको लेभल हाइ हुने’ जोखिम हुन्छ । यसको लागि खानपान, व्यायाम र नियमित औषधिको सेवन गर्न सकिन्छ ।
इन्सुलिन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
-इन्सुलिन (सुई) लगाएपछि कति समयपछि खाना खाने भन्ने निश्चित समय हुनुपर्छ ।
-इन्सुलिन लगाइसकेपछि साबिक तवरमा हिंड्ने र काम गर्ने गर्नुपर्छ ।
-चार-चार घण्टाको फरकमा केही न केही खाने बानी बसाल्नुपर्छ ।
-इन्सुलिनको डोज मिलाएर राख्नुपर्छ ।
-खाना समयमा खाने, यसले पछि हुने दीर्घरोग हुनबाट जोगाउन मद्दत गर्छ ।
इन्सुलिन कहिले लगाउने ?
बेसल इन्सुलिन छ भने नियमित एउटै समयमा लगाउनुपर्छ । जस्तै, आज बिहान ८ बजे लगाएको छ भने भोलि ८ बजे नै लगाउनुपर्छ । यो २४ घण्टादेखि ४२ घण्टासम्म काम गर्ने इन्सुलिन हुन्छ ।
बेसल इन्सुलिन खाना खानुभन्दा अगाडि लगाउनुपर्छ । जस्तो ८ बजे खाना खाँदै हुनुहुन्छ भने आज ८ बजे नै खाने भोलि १० बजे खाना खाना खाँदै हुनुहुन्छ भने १० बजे लगाउन सकिन्छ । तर खाना दैनिक रुपमा एउटै समयमा खाँदा अझ लाभदायक हुन्छ ।
रेगुलर वा ह्युमन इन्सुलिन छ भने खाना खानुभन्दा २० मिनेट अगाडि लगाइन्छ । किनकि त्यसले अलि ढिलो काम सुरु गर्छ ।
रेगुलर इन्सुलिन चाँडै काम गर्ने खालको छ भने खाना खानुभन्दा पाँच मिनेट अगाडि लगाउने वा खाना खानेबित्तिकै लगाउने वा खाना खाइसकेको पाँच मिनेटसम्म लगाउनुपर्छ ।
कति पटक जाँच गर्ने ?
इन्सुलिन लगाउनुपर्ने बिरामीले दिनको तीनदेखि चार पटक रगतमा सुगरको जाँच गर्नुपर्छ । ग्लुकोमिटरले जाँच गर्न सकिन्छ । किनभने बिरामीअनुसार इन्सुलिनको आवश्यकता फरक-फरक हुन्छ । यसको अलावा हप्ताको एकचोटि ल्याबमा जाँच गराउन सकिन्छ ।
टाइप–१ र टाइप–२ मधुमेहका जोखिम
मुटुको समस्या, हृदयघात, मस्तिष्काघात, मिर्गौलासम्बन्धी समस्या, पक्षघात, आँखा धमिलो हुने हुन्छ । यसबेला रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले पिसाबको संक्रमण, निमोनिया र एलर्जी जस्ता समस्याले पिरोलिरहन्छ । टाइप-१ मधुमेहमा यस्तो असर चाँडै हुन्छ भने टाइप-२ मधुमेहमा ढिलो असर हुन्छ ।
खर्च कति ?
दुवैखाले मधुमेहमा औषधि र रगत जाँचका लागि लगभग महिनाको तीनदेखि पाँच हजार रुपैयाँसम्म खर्च लाग्छ ।