७ महिनाअघि आत्महत्या गरेका देवकोटालाई इन्भेष्टमेन्ट मेगा बैंकमा हाजिर हुन ३५ दिने सूचना !

    काठमाडौं । गत असोजमा आत्महत्या गरेका निरञ्जन देवकोटालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ३५ दिन भित्र उपस्थित हुन सूचना जारी भएको छ । बैंकले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गरी ३५ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ । आफ्नो स्वीकृति विना कुनै जानकारी नदिई कार्यालयमा अनुपस्थित रही हालसम्म पनि बैंकमा गैर हाजिर रही सम्पर्कमा नआएको भन्दै खोजी गर्दा समेत फेला पार्न नसकेकाले सार्वजनिक सूचना जारी गर्नुपरेको बैंकले बताएको छ । ३५ दिनभित्र कार्यालयमा अनुपस्थित हुनुको कारण र प्रमाण सहित बैंकमा उपस्थित हुन सूचनामा भनिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकको चर्को दवावसहित मानसिक तनाव दिएको भन्दै तत्कालीन मेगा बैङ्क हेटौडा शाखाका प्रमुख निरञ्जन देवकोटाले त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेका थिए । बैंकको केन्द्रीय कार्यालयका हाकिमहरूले टर्चरसहित सोधपुछ गरेपछि घर फर्कँदै गरेका देवकोटा धादिङ पुगेर त्रिशुली नदिमा हामफालेर आत्महत्या गरेको समाचार आएका थिए । देवकोटाले धादिङ गजुरी ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता खोलेर त्रिुशली नदिमा हाम फालेका थिए । यद्यपि उनको शव भेटिएको छैन । धादिङका तत्कालीन प्रहरी प्रमुख गौतम मिश्रका अनुसार माछा मार्ने व्यक्तिहरूले हाम फालेको देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा बा.प्र ०३–००५प ४१७६ नम्बरको मोटरसाइकल र जुत्ता फेला मात्रै फेला परेको थियो ।

    मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटाले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाइका कारण राजीनामा दिएका थिए । मर्जरपछि राजीनामा दिइसकेका उनलाई बैङ्क सञ्चालकहरूले नउठेका ऋणको छानबिन गर्न भन्दै पटक–पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिएको आरोप छ ।

    स्रोतका अनुसार नदीमा हाम फालेका देवकोटाले सुसाइड नोट समेत लेखेको र सो सुसाइड नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओसहितका व्यक्तिको गाली गलौच र दबाब मुख्य कारण खुलाएको जनाइएको छ ।-नेपाल भ्यूज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *