नेपालको कुन प्रदेशमा कस्तो असर देखिदै छ त रेमल चक्रवातको ?

    काठमाडौं । बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको अप्रत्यक्ष असर नेपालको पूर्वी भागमा देखिन थालेको छ । खासगरी कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ ।

    प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न पहिलो चक्रवातको सीधा असर भने नेपालमा नपर्ने मौसमविदहरुले बताएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार रेमल चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव पर्ने छ । यसको अप्रत्यक्ष असरले सोमबार र मंगलबार नेपालका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहने मौसमविद झाले बताए ।

    मौसमविद चिरञ्जिवी भेटवालका अनुसार रेमल चक्रवात नेपालको पूर्वी भूभागभन्दा बाहिर नै भएर बहने छ । यसको बाहिरी घेराका केही बादलमात्र नेपालसम्म आइपुग्ने छन् ।

    कुन प्रदेशमा कस्तो असर ?

    मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै रेमल चक्रवातको असर नेपालको कुन प्रदेशमा कस्तो खालको रहन्छ भन्ने जानकारी समेत दिएको छ ।

    कोशी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग, हावाहुरी सहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चटयाङ्ग हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विशेष बुलेटिनमा उल्लेख छ ।

    रेमल चक्रवातको बढी असर भारत र बंगलादेशमा रहने पूर्वानुमान छ । भारतको आसाम, मेघालय, पश्चिम बंगाल, अरुणाञ्चल प्रदेशमा तीव्र हुरी चल्ने र मध्यमदेखि भारी वर्षा हुने त्यहाँको मौसम विज्ञान विभागले जनाएको छ । रेमल चक्रवातले क्षति पुर्याउन सक्ने भएकाले कलकत्ता विमानस्थलमा उडान–अवतरण बन्द गरिएको छ ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *