झन झन कठिनाइ थपिदै सन्दीपको भिषा!

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको २७ मेमा मेमोरियल डे मनाउने भएकाले सबै देशका कूटनीतिक नियोगमा आज सार्वजनिक बिदा दिइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले आज सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । पहिलोपटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रियाअघि बढाएका थिए । तर, अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप गुमाउने खतरा थप बढेको छ । नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकटसमेत व्यवस्था गरिसकेको थियो । जर्सी प्रिन्ट पनि भइसकेको थियो । फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनले एक वर्ष अघि भिसा रद्द भएको इमेल पाए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीले सन्दीपलाई खेल्न पठाउने वा नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् । यदि सरकारले कूटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउनेछन् । तर, अहिलेसम्म कूटनीतिक नोट तयार भने भएको छैन । सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने दूतावासले संकेत गरेको छ । त्यसैले अहिले क्यानका पदाधिकारीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । युवा तथा खेलकुदमन्त्रीलाई भने यसअघि सन्दीसहितको टोलीले भेटेको थियो । त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ । परराष्ट्रका अधिकारीले प्रक्रिया अघि बढाउनुभन्दा पहिला दूतावाससँग समन्वय हुनुपर्ने बताएका छन् । मेमोरियल डे अमेरिकी सेनामा कार्यरतले जीवन आहुती गरेको दिनको रूपमा मनाइन्छ । मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी दूतावासमा विदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहनेछ । यता नेपाल सरकारका सरकारी निकाय भने मंगलबार विदा हुँदा त्यसले पनि भिसा प्रकृयामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ ।

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *