सिजन नजिकिँदै गर्दा बजारमा फलफूलको राजा मानिने आँप पाइन थालेको छ। स्वास्थ्यवर्द्धक र स्वादिलो आँपलाई पकाउने बेलामा रसायन हाल्ने कुकर्मले अमृतजस्तो फललाई विष समान बनाइरहेको छ।
आँप, केरा, मेवा, अम्बाजस्ता फल रुखमा छिपिएपछि नपाके पनि टिपिन्छ। यसरी काँचै टिपिने फल टिपिसकेपछि प्राकृतिक रूपमा आफै वा गुम्स्याएपछि पाक्छन् जसको प्रमुख कारण तीनमा प्राकृतिक रूपमा उत्पादन हुने एथिलिन ग्यास हो।
फललाई छिट्टै पकाउनु पर्दा कपडा, बोरा, भुस आदिमा गुम्साइन्छ। यसरी प्राकृतिक तवरले पकाउँदा अमृत समान पोसिलो हुने आँप क्याल्सियम कार्बाइडजस्ता अखाद्य रसायन हालेर पकाएर बिष समान बनाउने चलन व्याप्त छ।
आज हामी रसायन हालेर पकाएको आँप कसरी चिन्ने भन्ने बारेमा चर्चा गर्दै छौँ ।
रसायन हालेर पकाएको आँप साधारण तरिकाबाटै पनि चिन्न सकिन्छ । किनभने यसरी पकाइएको आँपमा प्राकृतिक रूपमा पाकेको आँपमा भन्दा कम रस हुन्छ। रस कम हुने भएकैले यस्तो आँप पानीमा तैरिन्छ ।
यसको अर्थ पानीमा राख्दा प्राकृतिक रूपमा पाकेको आँप पानीमा डुब्छ। त्यस्तै रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रङ्गमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरू हुन सक्दछ।
यस्तो आँपमा वासना कम आउँछ भने प्राकृतिक रूपमा पाक्दा सबैतिर एकनासको पहेँलो हुँदैन।
कार्बाइड बल्ने प्रकृतिको हुने हुँदा उक्त रसायन हालेर पकाएको आँपको नजिक आगोको झिल्का पर्यो भने बल्न वा झिल्का टिप्न सक्छ। रसायन हालेर पकाइएको आँप प्राकृतिक रूपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ।