आज भारत र पाकिस्तान भिड्दै !

    जारी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदै छन् । आज पहिलो खेल समुह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच खेल जारी छ ।

    गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध शुरुमा ब्याटिङ गर्दै छ ।

    वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो ।  जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ ।

    त्यस्तै युगाण्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार बेहोरेको छ । युगाण्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो ।

    त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

    यस खेललाई यस विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ ।

    भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी-२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ ।

    त्यस्तै टी-२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।

    त्यसैगरी आज तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुँदै छ । एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुने छ ।

    जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । ओमानले नामिबिया र अस्ट्रेलियासँग हार बेहोरेको थियो ।

    त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको थियो । ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी-२० भएका छन् । जसमा चारै खेल स्कटल्याण्डले जितेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *