यसरी घटाउन सकिन्छ तनाव

    काठमाडौँ – गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने प्रतिक्रिया नै तनाव हो ।  तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरको विभिन्न अङ्‌गमा हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ।

    त्यसले मुटुको धड्‌कन बढाउने, रक्तचाप घटबढ गर्ने, फोक्सोलाई आवश्यकताभन्दा धेरै फुलाउने वा खुम्चाउने अनि मांसपेशीलाई कडा बनाउने गर्छ।

    हाम्रो मस्तिष्कले वास्तवमा के भइरहेको हो भनेर ठम्याउनुअघि नै हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउन थालिसकेको हुन्छ।

    अनि तनावको अवधि सिद्धिएपछि हाम्रो शरीर फेरि सामान्य अवस्थामै फर्कन्छ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्:

    – काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ।

    – मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने गर्नुस्। साथीभाइबीच हाँसखेल चल्छ, जसले तनाव कम गरिदिन्छ।

    – पुरानो कुनै कुराले तपाईँलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुस्। यस्तो गर्दै जानुभयो भने तपाईँ विगतको धङधङीबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ।

    – तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ। यसका लागि बिना प्रयोजन बेस्कन हाँस्ने गर्नुस्। सक्नुहुन्छ भने पेट मिचीमिची हाँस्ने गर्नुस्। यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ।

    – कुनै कुराले पिर परेको छ अथवा तनाव सिर्जना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ। यसले तपाईंको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ ।

    – कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईँलाई अझ तनावमा पार्छ। पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन।

    – स–साना कुराले भावुक बनाउने गरेको छ भने यस्तो बानी हटाउनुहोस् । आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ।

    – जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्टाउने गर्नुपर्छ। छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन।

    – योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईँलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *