राज्यको नयाँ संरचनाहरुलाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्छ : तारानाथ दाहाल

काठमाडौँ, २३ कात्तिक । फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले डिजिटल मिडियाको फैलिँदो अवस्थालाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक छलफल कार्यक्रममा उहाँले प्रसारण, डिजिटल मिडियाको फैलिँदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नका लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महसुस भएको भन्दै यसको प्रयास सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रपत्रिकाहरुलाई राज्यले कठोर नियमन गरेर मात्र हुँदैन । उनीहरु आफैँ स्वनियमनबाटै चल्नुपर्छ भन्ने मान्यताका लागि ५ दशकदेखि प्रेस काउन्सिल भन्ने संस्था त्यसकै लागि छ । यसलाई नै मिडिया काउन्सिल भनेर लान खोजेको हो । पहिला पत्रपत्रिकाको क्षेत्रलाई मात्र यसले समेट्ने गरेको थियो तर प्रशारण क्षेत्रलाई नसमेटेको हुनाले त्यसलाई पनि समेट्नका लागि र अर्को भनेको प्रसारण, डिजिटल मिडियाको फैलिँदो अवस्था, संविधानको उद्धार भावनालाई कार्यान्वयन गर्न र राज्यको नयाँ संरचना सबैलाई समेट्नको लागि प्रेस काउन्सिललाई सुधार गर्नुपर्ने खाँचो महसुस भएको हो । र यसको प्रयास सुरु भएको हो ।’

यसको साथै, उहाँले यो विधेयकमा आमसञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयकमा आम सञ्चार, आम सञ्चार माध्यम, सञ्चार संस्था र पत्रकारको परिभाषाको बारेमा अझै केही समस्याहरु छन्, जुन किसिमले यी संस्थाहरुलाई व्याख्या गर्नुपर्ने हो त्यो हिसाबले यो विधेयकमा स्पष्ट परिभाषा गरेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *