मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : हालसम्म १८९ जनाको उद्धार

धादिङ, २४ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धारयात्रा सुरु भएको हो ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङको गजुरी गाउँपालिका–५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।

शुक्रबार उद्धार भएका ६ जनालाई मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा संरक्षणका लागि राखिने भएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६औँ दिन धादिङको गजुरीसम्म आइपुग्दा १८९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएका १४६ जना पुरुष र ४३ जना महिलाको संख्यामध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।

राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखा हुँदै तनहुँ, चितवन, धादिङका सडकपेटी रहेका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो ।

साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेको छ भने शनिबारदेखि काठमाडौँ उपत्यका सडकपेटी तथा सार्वजनिक स्थानमा रहेका सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *