काठमाडौँ, १ मंसिर । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरी जर्सीको डिजाइन गरिएको छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रंगको किनारा रहेको छ भने बाँया भागमा आक्रमक अवतारको सिंहको टाउको प्रतीक रहेको छ ।
भगवान् बुद्धको जन्मस्थानको रुपमा सुपरिचित लुम्बिनी नेपालको एक पवित्र बौद्ध तीर्थस्थल हुनुको साथै विश्व सम्पदास्थल पनि हो । विश्वका प्रमुख पवित्र धार्मिक स्थलहरूमध्ये लुम्बिनी एक हो, जसको भ्रमण गर्न बुद्धले आफ्ना अनुयायीहरूलाई सल्लाह दिएका थिए ।
जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि आनी छोइङ डोल्माले भन्नुभयो, ‘आज हामो लुम्बिनी लायन्सको जर्सी औपचारिक रुपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुसी लागेको छ । जसरी संसार भरका सबै मानिसहरुको मन मस्तिष्कमा शान्ति फैलाउन भगवान् बुद्धको भूमिका रहेको छ, त्यसैगरी लुम्बिनी लायन्सले पनि सबै जनाको मन मस्तिष्कमा विजय र गौरवको भावना महसुस गराउन सकोस् भन्ने कामना गर्दछु ।’
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले भन्नुभयो, ‘क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको छ । हरेक वर्ग, उमेर र आस्थाका मानिसहरुलाई क्रिकेटले एकै ठाउँमा ल्याएको छ । लगाव, समूहमा मिलेर काम गर्ने क्षमता र दृढ अठोट– यी कुराहरुले हरेक क्रिकेट खेलाडी र क्रिकेट प्रेमीहरूलाई एकताबद्ध गर्दछन् र मलाई व्यक्तिगत रुपमा पनि यी गुणहरु अति आवश्यक लाग्छन् । आज यस लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गर्दै गर्दा मलाई यस्तो लागेको छ कि यो जर्सी क्लबको पहिचान मात्र नभएर हाम्रा क्रिकेटरहरुको कडा परिश्रम, लगनशीलता र क्रिकेट प्रेमीहरुको अटुट साथको प्रतिविम्ब पनि हो । लुम्बिनी लायन्स क्लबमार्फत नेपाल प्रिमियर लिग एवम् समस्त नेपाली क्रिकेटसँग जोडिएर युवा क्रिकेटरहरुको प्रतिभालाई नजिकबाट नियाल्न पाउँदा म अत्यन्तै उसाहित छु ।’
त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भन्नुभयो ‘आज हामीले लुम्बिनी लायन्सको जर्सी लुम्बिनीबाटै सगौरव सार्वजनिक गरेको छौँ । सम्पूर्ण लुम्बिनीबासिको भावना र लुम्बिनीको ऐतिहासिक तथा साँस्कृतिक महत्त्वलाई समेट्ने गरी हामीले यो जर्सीको डिजाइन गरेका छौँ । निलो रङ्गले सम्पूर्ण नेपालको शान्ति र समृद्घिको भावना बोकेको छ भने सुनौलो रंगले लुम्बिनीभित्र रहेको अखण्ड दीपको प्रतिनिधित्व गर्छ । साथै सिंहको रंग पनि सुनौलो नै हुने भएकोले सुनमा सुगन्ध छाएको छ । यो जर्सी हाम्रो एकता, जोश, र उत्कृष्टताको प्रतीक हो । आशा छ, यहाँँहरुले मन पराइदिनुहुनेछ र लुम्बिनी लायन्सलाई माया र साथ दिनुहुनेछ । यहाँँसम्मको यात्रामा सदैव हाम्रो साथ रहनुभएकोमा हाम्रा प्रायोजकहरू, साझेदारहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ, साथै आगामी दिनहरुमा पनि यस्तै साथ र मायाको अपेक्षा गर्दछौँ ।’