काठमाडौँ, ४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामिप्य रहँदै आइरहेको नेपाल सम्वत् हाम्रो देश नेपालको राष्ट्रिय र मौलिक सम्वत् भएको बताउनुभएको छ ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिएको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा उहाँले आफ्नै देशको नामबाट स्थापित विश्वको एउटै मात्र सम्वत् भएकाले नेपाल सम्वत् सम्पूर्ण नेपाली जनताको गौरवमय राष्ट्रिय सम्पदा पनि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालको सांस्कृतिक विविधतालाई एकताको सूत्रमा अक्षुण्णपूर्वक आवद्ध राख्न नेपाल सम्वद्को भूमिका महत्वपूर्ण रहेको छ भन्ने मलाई लाग्दछ ।’
राष्ट्रपति पौडेलले शंखधर साख्वाःले आफूले आर्जन गरेको निजी सम्पत्तिलाई समाजका गरिब एवम् उत्पीडित समुदायको हितमा प्रयोग गर्नु विश्वकै लागि पनि एक उदाहरणीय कार्य भएको बताउँदै उक्त लोककल्याणकारी कार्य तत्कालीन नेपाली समाजका लागि आफैँमा एक क्रान्तिकारी कदम भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँको उक्त ऐतिहासिक कार्य लोककल्याणकारी समाज निर्माणको दिशामा अघि बढ्नका लागि आजका दिन पनि हामी सबैका लागि प्रेरणादायी रहँदै आएको छ । राष्ट्रपति पौडेलले मुलुकको पहिचान र राष्ट्रिय जनजीवनसँग यति लामो समय समीप रहँदै आएको नेपाल संवद्को आरम्भ गर्नुहुने व्यक्तित्व श्री शंखधर साख्वाः लोककल्याण एवम् परोपकारी भावनाका एक शिखर पुरुष हुनुहुन्छ । नेपाल सम्वत् स्थापनाको ऐतिहासिक सन्दर्भसँग सम्बन्धित उहाँको कर्मगाथा आफैँमा गरिमामयी रहेको पाइन्छ ।’