मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

धनगढी, ६ मंसिर । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताउनुभएको छ । उहाँले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताउनुभयो ।

बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ । तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन ।’ उहाँले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भइ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताउनुभयो ।

‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनैपनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौँ । २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौं,’ उहाँले भन्नुभयो ।

नयाँ प्रधानमन्त्री नियुक्तलगत्तै विदेश भ्रमणमा जाने परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ, चीन भ्रमणलगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आउनुभएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताउनुभयो । उहाँले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *