काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात् औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताउनुभएको छ ।
दशौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मूल समारोहमा बोल्दै उहाँले मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौँ चुनौतीको सामना गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात् औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको छ । अबको हाम्रो यात्रा भनेको समृद्धिको हो । यसमा सरकार र निजी क्षेत्रले गर्नुपर्ने कामहरुको जति पनि तथ्यांकहरु छन् ती सबै यथोचित छैनन् । थुप्रै नकारात्मक तस्बिरहरु हामीले देखेका छौँ, सुनेका छौँ । थुप्रै सम्भावनाहरु पनि मुखैमा छन् । त्यसैले मुलुकलाई सफलतातिर डोर्याउन र सम्भावनाहरुलाई अवसरमा बदल्नका लागि सबै चुनौतीहरुलाई चिर्नुपर्ने अवस्था छ ।’
साथै उहाँले निजी र सरकारी क्षेत्रले हातेमालो गर्न सके विकासका यात्रामा मुलुक धेरै पछाडि नरहने बताउनुभयो । उहाँले राज्यबाट थुप्रै निजी क्षेत्रले औँल्याएका प्रश्नहरुमा समूचित वातावरण बन्न नसकेको बताउनुभयो ।