मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड

काठमाडौँ, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाइएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताउनुभएको छ ।

बिहीबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाइ गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिक रुपमा हटाइएको छ । तर, मलाई जनताप्रति विश्वास छ । त्यो असंवैधानिक र अलोकतान्त्रिक र निरङ्कुश कदमका विरुद्ध त्यसको जनताले आफ्नो फैसला सुनाउनेछ । र त्यसको लागि जरुरी पर्‍यो भने हामी नयाँ आन्दोलनतिर पनि जाने छौँ । हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिँदा या विपक्षका सबै नेताहरु मिलेर सरकारलाई खबरदारी गर्दै गर्दा यदि सरकारले त्यसको सुनुवाइ गरेन भने हामी प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ । र त्यहाँबाट पनि लडाइँ छेडिने छ । हरेक पालिकापालिकाबााट र देशव्यापी अभियान चलाउनुपर्ने बाध्यतामा पनि पुग्न पर्ने हुनसक्छ हामीले भनेका छौँ ।’

उहाँले राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको भन्दै त्यसको लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलनको सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।

फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन आफू रातदिन देशभरि खटिरहेको पनि उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *