कर्णाली याक्समाथि काठमाडौँ गुर्खाजको रोमाञ्चक जित

काठमाडौँ, १० मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

एनपिएलमा काठमाडौँको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो । कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिएको थियो ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौँले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौँको जितमा कप्तान करण केसीले कप्तानी पारी खेले । १० बलको सामना गरेका उनले २८ रन जोडे । करणले २ चौका र २ छक्का हिर्काए ।

सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए ।

बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिनप्रसाद शर्माले समान १ विकेट लिए ।

यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्धतमा कर्णालीले काठमाडौँलाई १५० रनको चुनौती पेस गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोडेको हो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपिएलको छैटौँ अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *