काठमाडौँ, २५ मंसिर । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले अमानविय व्यवहार गरेको बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले अन्यायपूर्ण ढंगले र नियतवस रुपमा लामिछानेलाई एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाएर अमानवीय व्यवहार देखाएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेका गृहमन्त्री रमेश लेखक कानुनको ज्ञाता पनि हुनुहुन्छ । हाम्रो गृहमन्त्री नै भएको बेला यो केस न्यायिक निरूपणको विषय हुनुपर्ने हो । न्यायालयले यसबारे बोल्नुपर्ने हो । सकेसम्म पहिलो हप्ता नभए ८÷१० दिनभित्र अदालतमा बुझाइदिनु पर्ने हो । तर, नियतवस र मानसिक रूपमा ह्यारेस गराउनका निम्ति रविलाई कहिले कता कहिले कता कुदाइएको छ । देख्दा र हेर्दा लोकलाई पनि लाज लाग्छ भनिन्छ नि त्यस्तै भएको छ । सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले र नियतवस रुपमा यो काम भइरहेको छ । यो घटनाको घोर भत्र्सना गर्दछु । प्रधानमन्त्री, गृहमन्त्री र सरकारलाई तीन दिनभित्र म रवि लामिछानेको केस अदालतमा पेस गरियोस् भन्न चाहन्छु । विधिको शासन सबैले मान्नुपर्छ ।’
उहाँले रविमाथि सरकारले रवैया देखाएको भन्दै सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो,‘ जुन रवैया सरकारले देखाइरहेको छ । सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्नुपर्छ । रास्वपा नेता कार्यकर्ताहरुले गर्नुभएको व्यवहारमा पनि हामीलाई मन परेको छैन । अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नुहुन्न । बरु सदनमा आफ्नो कुरा राख्ने गर्नुपर्छ ।’
सांसद शर्माले गृहमन्त्री रमेश लेखकले पार्टीको प्रमुख सचेतक हुँदा सदनमा बोलाएर जिजि राईलाई किन पक्राउ नगरेको भनेर नारा लगाउन लगाएको भन्दै अहिले आफू गृहमन्त्री हुँदा किन पक्राउ नगरेको भनेर प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘गृहमन्त्रीज्यूलाई मेरो प्रश्न छ । हिजो पार्टीको सचेक हुँदा हामीलाई सदनमा रोस्टममा बोलाए जिबी राई खोई, किन पक्राउ नगरेको भनेर नारा जुलुस गर्न लगाउनुभयो । तर, आज तपाईं आफैँ गृहमन्त्री हुँदा पक्राउ गर्ने दायित्व हो कि होइन ? किन पक्राउ नगरेको ?’