राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो : प्रधानमन्त्री ओली

काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरुको मूल मन्त्र भएको बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले आज आयोजना गरेको राजनीतिमा प्रतिनिधित्व र पहुँच अभवृद्धिका लागि आदिवासी जनजाति महिला– राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहँदै प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले आदिवासी जनजाति र खासगरी सबै महिला समुदायको अधिकार स्थापनाका लागि विशेष महत्त्व दिँदै आएको बताउनुहुँदै हरेक जातिको उत्थान, सामाजिक न्याय र समतामूलक समाज निर्माण गरेरै छाडिने संकल्प गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पछाडि पारिएका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताउँदै आदिवासी जनजातिलाई आफ्ना परम्परा, कला र संस्कृतिलाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *