‘रवि लामिछानेको मुद्दालाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउनुपर्छ’

काठमाडौँ, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले रवि लामिछानेको मुद्दा जसरी भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुछिएका आरोपीहरुमाथि कारबाही हुनु पर्ने बताउनुभएको छ ।

मंगरबार ललितपुर महानगरपालिकाको १०६औँ वार्षिकोत्सवको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले रवि लामिछानेको मुद्दामा गम्भीरताका साथ लागेको भन्दै यति संवेदनशील भ्रष्टाचारका मुद्दामा पनि देखाउने हो भने आज देशले अर्कै निकास पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले रवि लामिछानेको मुद्दामा जति गम्भीरताका साथ लागिएको छ यति नै संवेदनशील भएर भ्रष्टाचारका सम्पूर्ण काण्डमा मुछिएका आरोपीहरूमाथि कारबाही र अनुसन्धान गर्ने हो भने आज देशले अर्कै निकास पाएको अवस्था हुन्थ्यो ।’

यस्तै, उहाँले देशमा यो बाहेक अन्य थुप्रै महत्त्वपूर्ण मुद्दाहरु रहेको भन्दै जनताका मुद्दाहरु सम्बोधन गर्नका लागि पनि यसलाई छिटो समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरीले निर्धक्क भएर अनुसन्धान गर्नुभए हुन्छ तर त्यो प्रमाण अदालतमा प्रस्तुत गर्नुपर्‍यो नि, यसलाई छिटोभन्दा छिटो अदालतमा लगेर समाधानतर्फ जानुपर्छ । जनताको मुद्दाहरु हेर्नका लागि पनि यसलाई छिटो समाधान गर्नुपर्छ । अदालतका विगतमा भएका निर्णयहरु पनि हामील स्वीकार गरेका नै छौँ तर यो कुरा अदालतमा नै पुगेको छैन भने हामी पूर्वाग्रही भएर टिप्पणी गर्न मिल्छ जस्तो लाग्दैन ।’

राजनैतिक प्रतिशोधका कारण नै यो मुद्दा चलिरहेको भन्दै विश्वभरको ध्यान यसमा हुँदा न्यायीक प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यस विषयमा अहिले नै बोली हाल्न हतार हुन्छ, पहिला के हुन्छ हेरौँ । हामीलाई न्यायिक प्रक्रियामा विश्वास छ भनिरहेका छौँ । तर, राजनैतिक प्रतिशोध कुन हदसम्म गइरहेको छ तपाईहरुले देख्नु नै भएको छ । एउटा कपाल जतिको पनि प्रमाण भेटिएको छैन । एउटा सानो मात्र प्रमाण हुन्थ्यो भने यिनिहरुले छोड्दैन् थिए । ६० दिनसम्म हल्लाएर राख्दैनन् थिए, देशभर घुमाएका छन्, अदालत पुग्न पाएको छैन, म्याद मात्र थपिएको छ । विश्वभरको ध्यान यसमा छ, यसले हाम्रो न्यायिक प्रक्रियामाथि कस्तो प्रभाव परिरहेको होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *