कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

काठमाडौँ, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिलए) आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको हो ।

कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन जोडे । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
एनपिएल डेब्यु खेल खेलिरहेका कोल्सावालाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाए लगत्तैको अर्को ओभरमा कोल्सावाला रवि बोपाराको बलमा शरद भेषवाकरद्वारा समातिए ।

विलियम बोसिस्टोले ३९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । एनपिएलको आफ्नो दोस्रो अर्धशतक बोसिस्टोले ३७ बलमा पूरा गरे । अर्धशतक बनाएलगत्तै बोसिस्टो सोहेल तन्भिरको बलमा बोल्ड आउट भए । उनले यसअघि लिग चरणको खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए ।

चाल्डिक वाल्टन २२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४६ रन जोड्दै नट आउट रहे । देव खनाल ३ बलमा ३ रन जोड्दै रन आउट भए ।

दोस्रो ओभरको पहिलो बल सामना गर्ने क्रममा रित गौतम आउट भएका हुन् । इनिङको पहिलो बल सामना गर्ने क्रममा रित सोहेल तन्भिरको बलमा विकेटकिपर विपिन रावलबाट समातिए । जिशान मक्शुदले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन जोडे । मक्शुद शरद भेषवाकरको बलमा रञ्जित कुमारबाट क्याच भए । शरदको प्रतियोगितामा यो पहिलो विकेट हो ।

चौधौँ ओभरको चौथो बलमा गुल्शन झा रनको खाता नखोल्दै कप्तान कुशल मल्लको बलमा बोल्ड आउट भए । चितवनका लागि सोहेल तन्भिरले २ तथा रवि बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १ विकेट लिए ।

लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीबार खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *