धनगढी, ५ पुस । कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताउनुभएको छ ।
उहाँले सभापति सबैको साझा व्यक्ति भएकाले उहाँसँग दूरी रहने कारण नै नरहेको बताउनुभयो । ३ दिने सुदूरपश्चिम भ्रमणका लागि धनगढी आउनुभएका वरिष्ठ नेता डा.कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै १५औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिको दाबेदार रहेको बताउनुभयो ।
उहाँले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहमा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताउनुभयो । उहाँले पार्टी महामन्त्री गगन थापा र आफूबीच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्नुभयो ।
वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताउनुभयो ।
सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत उहाँले गर्नुभयो । वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनुहुँदै नेता कोइरालाले जनतामुखी बन्न सचेत गराउनुभयो ।