विद्युत् क्षेत्रमा बजेटको अभाव छ : कुलमान घिसिङ

काठमाडौँ, ५ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा बजेटको अभाव भएको बताउनुभएको छ ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा बोल्नुहुँदै उहाँले धेरै पूर्वाधारहरु बनाउनुपर्ने भए पनि बजेट अभावका कारण बन्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग बजेटको अभाव छ । लिमिटेड मात्र बजेट हामीसँग छ । धेरै पूर्वाधारहरु बनाउनुपर्नेछ । अर्थमन्त्रालयबाट बजेटको धेरै आशा पनि गर्न सकिँदैन। तर, यसमा राज्यले बढी हेर्नुपर्छ । नेपालको पूर्वाधार क्षेत्रमा ठुलाठुला विकासका परियोजनाहरूको काम भइरहेको छ । बत्ती र बाटोको विकास भएको छ । जुन हाम्रो ठुलो पूर्वाधारको विकासको आधार हो । नेपालको विद्युत् क्षेत्रको ठुलो विकास हुनेछ, यसका लागि ठुलो लगानी आवश्यक छ । ठुला परियोजनहरूका लागि वैदेशिक लगानी चहिन्छ ।’

यसैगरी, घिसिङले देशमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताउनुभयो । उहाँले लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा नकारात्मक कुराहरुको जमात बढ्दो छ । देशमा लोडसेडिङ हुँदा रमाउने जमात धेरै देखेँ । लोडसेडिङ हुँदा रमाउने जमातले नै लोडसेडिङको हल्ला फैल्याइरहेका हुन्छन् । तर, विद्युत् प्राधिकरण नाफामा गयो भन्नासाथ एकदमै खुसी नहुने र घाटामा गयो भने एकदमै खुसी हुने जमात पनि छ । ’

उहाँले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत् वितरणमा समस्या भएको बताउनुभयो । माथिल्लो तामाकोसी र कालीगण्डकी बन्नेबित्तिकै लोडसेडिङको समस्या समाधान हुने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *