काठमाडौँ, ८ पुस । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दीक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरु आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दीक्षित हुने तयारीमा रहेका आमा र छोराले खुसी साटेका छन् ।
उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री (सिलवाल) र छोरा अभिनव सिलवाल एकसाथ दीक्षित हुने तयारी गरिरहेको सुनाउनुभयो । ‘म अहिले ५० नाघिसके । ललितपुरको नमुना मछिन्द्र कलेजबाट प्लस टू र स्नातक पनि त्यहीँबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर, अचानक पढाई पूरा गर्ने सोचअनुसार हाललाई त्यो पूरा गरेको छु । र दीक्षान्तको तयारीमा छु,’ उहाँले भन्नुभयो, ‘मैले मेरा बच्चाहरुसँगै बसेर पढेँ । परिवारको साथ र सहयोगले पढाइ पूरा गरेर दीक्षित हुने रहर लागेको हो ।’
‘म अहिले औधी खुसी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लागएर छोरासँगै दीक्षित हुने रहर पूरा गर्दैछु,’ उहाँले भन्नुभयो ।
छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दीक्षित हुने तयारी गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो । ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नुपर्छ भन्न चाहन्छु,’ उहाँले भन्नुभयो ।