पत्रकारहरुले कलम समाएपछि धर्म छाड्नु हुँदैन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, ८ पुस । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरुले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उहाँले अहिलेको समाजमा मानव सभ्यता कम हुँदै गएको भन्दै यस्तो बेला पनि पत्रकारहरुले आफ्नो धर्म छोड्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ । नैतिकताको धेरै कमी छ । राजनीतिकर्मीहरुले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ राजनीति रहँदैन । त्यस्तै तपाईंहरुले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनुपर्छ । आजको संसारमा नैतिकताको कमी भइरहेको छ, यस्तोबेला आफ्नो धर्म नछोड्नु । जहाँ भए पनि आफ्नो व्यवसायीक धर्म छोड्नु हुँदैन त्यसपछि पत्रकार बन्न सकिन्छ ।’

यसको साथै, उहाँले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाइँ पत्रकारहरुले सधैँ लड्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज खुला समाजमा हामी आएका छौँ । संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, संघीयतासहित समाबेसी, समानुपातिक छ । स्वतन्त्र पत्रकारिता छ तर अहिले पनि गुनासो आइरहेको छ कि सरकारले यो क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको छ । यसमा तपाईहरु लडिरहनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *