काठमाडौँ, १० पुस । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताउनुभएको छ ।
बुुधबार स्व.राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले बिपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जीवन हामीले एक चोटी पाउने हो । तपाईंले कसरी प्रयोग गर्नुहुन्छ ? तपाईंको परिचय त्यसबाट हुन्छ । मरिसकेपछि मान्छेले सम्झिन्छन् । आज बिपी कोइरालालाई किन सम्झिन्छौँ ? उहाँ करोडपति त हुनुहुन्थ्यो । बिपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो जीवन प्रयोग गर्नुभयो । तपाईं आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज कस्तो छ ? हजारौँ वर्षदेखि चलिरहेको समाजको निरन्तरता हामीले दिने हो । बिपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ ।’
साथै उहाँले आफ्नो लागि नभइ अर्काको लागि राजनीति गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताउनुभयो । उहाँले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताउनुभयो ।