सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौँ : मन्त्री पाण्डे

काठमाडौँ, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नुभएको छ ।

मंगलबार २६औँ नेपाल पर्यटन बोर्डको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा हुन नसकेको भन्दै सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘१९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन । सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ ।’

मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रुपान्तरणका लागि काम गरिरहेको बताउनुभयो । उहाँले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताउनुभयो ।

उहाँले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *