जनकपुर, २४ पुस । मधेस प्रदेश सरकारले सहिद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको छ ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राज कुमार लेखीले पुस ९ गतेबाट उक्त बिमा कार्यक्रम लागु भएको जानकारी बुधबार पत्रकार सम्मेलनमार्फत् दिनुभयो ।
मन्त्री लेखीले स्वास्थ्य बिमा कार्यक्रमले प्रदेशका सहिद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिनुभयो ।
उहाँले यस स्वास्थ्य बिमा कार्यक्रमले सहिद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले सहिद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।
मधेस प्रदेश सरकारले जम्मा १ हजार ८१ जनासहित परिवारका प्रत्येक परिवारका पाँचजना सदस्यको बिमा गर्न लागेको हो ।
पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिनुभयो । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुने छ । मन्त्री लेखीले भन्नुभयो, ‘भोलि बिहीबारसम्म कार्यदलले तयार पारेको मस्यौदा प्रदेश सरकारलाई बुझाइनेछ ।’