काठमाडौँ, २५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सबै पार्टीको साथ सहयोगले देशमा रहेका विकृति र विसंगतिहरु हटाउन सकिने बताउनुभएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री पाण्डेले बलियो गठबन्धनले दिने राजनीतिक स्थिरतामा माओवादी, समाजवादी र जसपालगायत सबैको साथ सहयोगले मात्र देशले एउटा सकारात्मक बाटो तय गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले निकै ठुलो अप्ठ्यारोमा छौँ । जति पनि समितिमा जति पनि विषयहरु उठ्छन् र सरकारमा गएर हामीहरुले काम गर्ने कोसिस गरिरेका छौँ । सबै अप्ठ्यारा समाधानका निम्ति निकै ठुलो तत्परता चाहिन्छ । राजनीतिक सन्दर्भमा पनि दुई ठुला दल एक ठाउँमा आउने गठबन्धन बनाउने र स्थिर सरकार दिएरै थुप्रै विकृति र विसंगतिसँग लड्न सकिन्छ की भन्ने कुराको सदीक्षा हो । यसको अर्थ यो होइन कि अरु राजनीतिक दलहरु निषेधमा परुन्, बलियो गठबन्धन, बलियो गठबन्धनले दिने राजनीतिक स्थिरता त्यसमा सबैको साथ सहयोग माओवादी, समाजवादी, जसपा र राप्रपालगायत सबैको साथ सहयोग भएपछि मात्रै देशले एउटा सकारात्मक बाटो तय गर्न सक्छ ।’
यसैगरी उहाँले अहिले दिन प्रतिदिन युवाहरुमा निरासा बढ्दै गइरहेको बताउनुभयो । उहाँले युवाहरु रोजगारीका लागि विदेश पलायन धेरै नै बढिरहेको बताउनुभयो । यसैगरी मन्त्री पाण्डेले कुनैपनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘मेरो कुनै पनि विभागीय कर्मचारीहरुमथि पूर्वाग्रह छैन । कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु ।’
उहाँले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उद्घोष गर्नुभयो । उहाँले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौँ भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यान दिनुपर्ने समेत उल्लेख गर्नुभयो ।
उहाँले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पार्नुभयो । मन्त्री पाण्डेले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठुला विमान समेत उडान हुनु पर्नेमा प्रष्ट पार्नुभयो ।
त्यस्तै, छलफलमा भाग लिनुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा समिति सदस्य माधव कुमार नेपालले वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनमा कहाँ–कहाँ समस्या छ त्यसको बारेमा ठिक ढंगले छलफल गर्नुपर्नेमा जोड दिनुभयो । वायु सेवा निगमको विमानसेवा सञ्चालनमा देखिएको समस्याको अध्ययन गर्ने एउटा समिति निर्माणगरी र विस्तृत अनुसन्धान र अध्ययन गरेर समस्या समाधानतर्फ लाग्नु पर्ने उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो,‘नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनमा कहाँ कहाँ समस्या छ त्यसको बारेमा ठिक ठिक ढंगले छलफल गरौँ । म सभापतिलाई भन्न चाहन्छु । यसबारे अध्ययन गर्ने एउटा समिति निर्माण गरौँ । र समस्या समाधानको लागि समितिको सदस्यहरुको पनि सुझाव लिने, विज्ञहरुको पनि राय लिने र जति समय पनि लागोस् तर विस्तृत अनुसन्धान र अध्ययन गरेर समस्या समाधानतर्फ लागौँ । ’