आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

काठमाडौँ, १६ पुस । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नका लागि निजी क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ श्रम संसद समारोहमा उहाँले निजी क्षेत्रले सक्रिय रुपमा काम गर्नका लागि सबै ठाउँबाट वातावरण मिलाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक समृद्धि हासिल गर्नका लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसका लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने निजी क्षेत्रको धारणा छ ।’

यस्तै, उहाँले नेपालमा केही सम्भावना छैन भन्ने नकारात्मक भाष्य चिर्नका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत् व्यवसायीहरुलाई इक्युटी दिने काम सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरु गर्न सक्ने ठाउँहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरुलाई इक्युटी चाहिएको छ भने त्यो कम्पनीमार्फत् इक्युटी दिने हिसाबले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौँ ।’

देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरु भयोभने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरु, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाइ छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउनसक्छ ।’

सोही क्रममा रोजगार परिषद्का अध्यक्ष ध्रुवराज रिजालले आर्थिक गतिविधिको अवस्था अहिलेको धेरै बिग्रिएको भन्दै अहिले मजदुर र साहु भनेर होइन सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको अवस्थामा श्रमजीविहरुसँग मिलेर काम गर्न सकिएन भने अहिलेको परिस्थितिको सम्बोधन हुन सक्दैन । आजको आर्थिक अवस्था निर्माणमा को मालिक हो, को मजदुर हो छुट्याउन सक्ने अवस्था नै छैन । यो आफ्नो स्टन्डका लागि ल्याएको एउटा नीति होला तर आर्थिक गतिविधिलाई चलायमान बनाउने अवस्था अहिलेको जस्तो विग्रिएको कहिले पनि थिएन होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *