धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ : सिके राउत

काठमाडौँ, १७ पुस । नयाँवर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातिले मात्र मनाउने भेषभुषा नभएको बताउनुभयो । उहाँले आज सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाहिँ कुनै एउटा एकल जातजातिले मात्र मनाउने भेषभुषा दिवस होइन । सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो । सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपी त कसैले धोती लगाएका छन् ।’

साथै, उहाँले मौलिक संस्कृतिमा गर्व गर्ने हिसावले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा सबैजना मधेसी समुदायले लगाउने धोती लगाएर सहभागी भएका थिए । उनीहरुले ‘धोती हाम्रो शान हो, मधेसीको पहिचान हो’, ‘मधेसी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *