काठमाडौँ, १७ पुस । शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावलीभन्दा अरु कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गर्नुभएको छ ।
बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले ऐन र नियमावलीभन्दा बाहिर जाँदा कामहरुमा राम्रो परिणाम दिन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ धेरै कुराहरु मैले सुझावको रुपमा लिएको छु, हामीले यो निर्देशिका, मापडण्ड कार्यविधिहरु एकदमै धेरै नै भयो । सबैले भन्नुभयो अब ऐन र नियमावलीभन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौँ, जसले दुई वटा समस्या हुने भयो, एउटा चाहिँ ऐन र नियमावलीमा के छ ? भन्ने कुरा नहेरिकन तत्कालीक आवश्यकताका आधारमा कार्यविधि बनाउने, निर्देशिका बनाउने, मापडण्ड बनाउने, अर्को कुरा त झन त्यो बनाउनैको लागि समय खर्चिँने अनि कार्यन्वन गर्ने बेलासम्म बनाउने बसिरहने अवस्थाले परिणाम दिन सकेन ।’
यसैगरी राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुको परीक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय बोर्डलाई मजबुत बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तीन वटा परीक्षा बोर्डहरुमध्ये परिक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्छ । राष्ट्रिय परीक्षा बोर्ड १२ कक्षामा मात्र लिने गरी जानुपर्छ, अरु हामी १० कक्षासम्मको प्रदेशलाई नै हस्तान्तरण गर्नुपर्ने सोचेका छौँ, यसका विषयमा विधेयकमा छलफल भइराखेको छ ।’