माओवादी केन्द्रले भन्यो- अध्यादेश ल्याउनका लागि सरकारले संसद् अधिवेशन बोलाएन

काठमाडौँ, २१ पुस । नेकपा (माओवादी केन्द्र)ले अध्यादेश ल्याउनका लागि सरकारले संसद् अधिवेशन नबोलाएको आरोप लगाएको छ ।

धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा आजदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को बैठकपश्चात पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष सापकोटाले सरकारले संसद् अधिवेशन नबोलाउनु रहस्यमय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कुनै वर्ष मंसिर २८ संसद् अधिवेशन आह्वान भएको थियो तर अहिले पौषको २१ गते भइसक्दा पनि सरकारले संसद् अधिवेशन बोलाएको छैन । हामीलाई के लागेको छ भने यो कुनै रहस्यमय तरिकाले सदन बोलाउन ढिलाई भइरहेको छ ।’

राजनीतिक दल फुटाउन अध्यादेश ल्याए पार्टीले प्रतिवाद गर्ने उहाँको भनाइ छ । उपाध्यक्ष सापकोटाले आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरूसँग एकताको पहल गर्ने प्रस्ताव राखेको बताउनुभयो । सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने गरी जानकारी गराइएको बताउनुभयो ।

यसैगरी माओवादी केन्द्रले फागुन १ गतेदेखि एक महिना तराई÷मधेस जागरण अभियान चलाउने भएको छ । बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व—पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रस्ताव राखेको जानकारी दिनुभयो । साथै उपत्यका विशेष अभियान चलाउने पनि धारणा राखेको उहाँले बताउनुभयो ।

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता र बृहत् वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रस्ताव आएको पनि उहाँले बताउनुभयो ।

उहाँ भन्नुभयो, ‘पार्टी एकता र बृहत् वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो । त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने । नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ । महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ । महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्‍याउन पहल गर्ने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *