हेटौँडा, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरुले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने बिन्दुमा पुगेको बताउनुभएको छ ।
राप्रपा मकवानपुरले हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरु अरु दलका नेताले ‘त्यति धेरै खाए हामीले चाहिँ यति खाँदा पनि थुनिनुपर्ने’ भन्ने बिन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले कांग्रेस–एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनका लागि निर्माण भएको प्रमाणित भएको बताउनुभयो । सरकार निर्माण भएको छ महिनाको अवधिले कांग्रेस–एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताउनुभयो ।
आज देशको राष्ट्रिता कमजोर भएको बताउनुहुँदै देश अहिले भू–राजनीतिक चक्रब्युमा परेको बताउनुभयो । हाम्रो देशमा विदेशी चलखेल बढेको बताउनुहुँदै अध्यक्ष लिङ्देनले यो अवस्थाको निर्माण तिनै दलहरुले गरेको दाबी गर्नुभयो ।
देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा अहिले चरम निराशा बढेको, युवाहरुले देश छाड्ने दर ह्वात्तै बढेको बताउँदै देश गम्भीर मोडमा पुगेको बताउनुभयो ।