काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चीनको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताउनुभएको छ ।
बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्नुहुँदै उहाँले एमसिसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो साच्चिकै नै राम्रो छ भन्ने लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देश भारत र चीनको बीचमा छ । यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ । तर, अहिले चाहिँ एमसिसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भए । तर, अहिले आएर सबैले साच्चिकै राम्रो रहेछ यो एमसिसी भनेर बुझेका छन् ।’
यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढी राख्नुपर्ने बताउनुभयो । उहाँले उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको समोन्नतिसँग लाभान्वित हुनुपर्ने र विकास निर्माणमा भइरहेको ढिलाईबारे गहन रुपमा छलफल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले आफूले गरेको परियोजनाहरु बाहेक यस्तो छलफलहरुमा खुलेरै छलफल गर्दा हामीले धेरै सम्झिनुपर्ने कुरा छ । उत्तरी मित्र राष्ट्र कुनै कम्पनीले निर्माण गरिरहेको बुटवलदेखि भैरहवाको र बुटवलदेखि नारायणघाट सडकको खुलेर छलफल गनुपर्छ । तर, पूर्वाधारहरु सहयोगको सन्दर्भमा लिँदै गर्दा त्यसले निश्चित समयावधि हेर्न आवश्यक छ । अहिले पनि ग्वार्कोको फ्लाई ओभर हामीलाई गिज्जयाइरहेको अवस्था छ, त्यसैले राज्यले यो बेला विकास निर्माणका कुरामा इच्छा शक्ति राख्नुपर्छ । उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको समोन्नतिसँग लाभान्वित हुनु छ । र विकास निर्माणका ढिलाईका कुराहरुमा पनि हाम्रा कमजोरी र मित्र राष्ट्रहरुका कमजोरीहरु पनि गहन रुपमा छलफल गरेर जानुपर्ने छ ।’