भन्सार संगठनको व्याख्या विपरीत कुनै निर्णय भएको छैन : महानिर्देशक पुडासैनी

काठमाडौँ, ११ माघ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनको व्याख्या विपरीत विभागले कुनै निर्णय नगरेको दाबी गर्नुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित ७३औँ अन्तर्राष्ट्रिय विश्व भन्सार दिवसको उपलक्ष्यमा भन्सारसम्बन्धी अन्तक्रिया कार्यक्रममा उहाँले नीति परिवर्तन गर्ने क्रममा त्यसले राष्ट्रिय उत्पादन र रोजगारी वृद्धिमा दिने योगदानलाई ध्यानमा राख्नुपर्ने भन्दै कानुनविपरीत कुनै काम नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गरेको नीति परिवर्तनले राष्ट्रिय उत्पादनलाई कति योगदान दिन्छ र रोजगारी कति बढ्छ र निर्यात कति वृद्धि हुन्छ, आयात कति घट्छ भन्ने कुरा हेर्छौँ । यसमा नीतिगत कुरा प्रष्ट रुपमा आउनुपर्छ । नीजि रुपमा कति नाफा हुन्छ, घाटा हुन्छ त्यो हामीले हेर्ने विषय होइन । हामीले गरेका निर्णय अहिले पनि दाबा गर्छौँ अन्तर्राष्ट्रिय विश्व भन्सार संगठनले गरेको व्याख्या विपरीत हाम्रो कुनै पनि निर्णय छैन ।’

यस्तै, उहाँले राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने भन्दै असल नियतले गरेको काममा भएको सामान्य मानवीय त्रुटिहरुलाई कारबाही नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुले असल नियतले गर्नुभएको काममा भएको मानविय त्रुटिहरुलाई कारबाही गर्नु हुँदैन । त्यो कुरामा हामी सचेत छौँ । तर, राज्यले दिएको सुविधा र विश्वासमा विश्वासघात गरिन्छ भने कारबाहीको व्यवस्था हुनुपर्छ । धेरै कुराहरु सुधार भइरहेको छ ।’

भन्सार दरहरुमा पुनरावलोकन आवश्यक
यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रले उठाउँदै आएको तयारी वस्तु, कच्चा पदार्थहरुलाई स्पष्ट गरी भन्सार दरहरु पुनरावलोकन गर्न सकेमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाल जस्तो आयातका आधारमा अर्थतन्त्र भएको मुलुकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुँदैन यसले समग्र मुलुकको आपूर्ती श्रृंखलामा पनि व्यवस्थित गरी लगानी प्रवर्द्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको छ । धेरै वर्षदेखि उद्योग क्षेत्रले उठाउँदै आएको तयारी वस्तु, कच्चा पदार्थ र मध्यवर्दी वस्तुहरुलाई स्पष्ट गरी भन्सार दरहरु पुनरावलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिन्छ भन्ने महासंघको धारणा रहेको छ ।’

उहाँले भन्सारमा अन्तर्राष्ट्रिय मान्यता र प्रचलित कानुनअनुसार कारोबार मूल्यको आधारमा वस्तु जाँचपास गर्न सकिने व्यवस्थाको पूर्ण कार्यान्वयन गरी सन्दर्भ मूल्य सूचीको आधारमा मूल्यांकन गर्ने विद्यमान परिपाटीको अन्त्य भएमा व्यवसायिक वातावरणको निर्माण भइ नीजि क्षेत्रको मनोबल वृद्धि हुने बताउनुभयो ।

सोही क्रममा अर्थ सचिव डा.राम प्रसाद घिमिरेले कोभिडपछि निजी क्षेत्रको मनोबल गिरे पनि सुधारको बाटोमा अघि बढेको भन्दै यसमा धेरै हिनताबोध गर्न नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिडपछि निजी क्षेत्रको मनोबल गिरेको छ भन्ने कुरा धेरै चर्चामा छ । पछिल्लो समय समस्या पनि पहिचान गर्न सकेनौँ तर मलाई लाग्छ हामी सुधारको नै क्रममा छौँ । हामीले यसमा धेरै हिनताबोध गर्नुपर्छ जस्तो लाग्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *