राजश्व वृद्धिमा भएको प्रगतिप्रति चित्त बुझाएर बस्न सक्ने अवस्था छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको तुलनामा यो वर्ष राजश्व वृद्धिमा प्रगति भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको असरमा बोल्नुहुँदै उहाँले राजश्व वृद्धिमा प्रगति भए पनि चित्त बुझाएर बस्नसक्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिन्दगीभरि धेरै राम्रो काम गर्न त्यति सजिलो छैन । अहिले राजश्वको लक्ष्यको हिसावले चापमा छौँ । गत वर्षको तुलनामा राजश्वमा केही प्रगति भएको छ । राजश्व वृद्धिमा भएको प्रगतिमा चित्त बुझाएर बस्न सक्ने अवस्था छैन । त्यसैले राजश्वसँग सम्बन्धित कुरा भन्सार विभागले बुझ्नुपर्छ । हिजोको तुलनामा प्रगति गरेको हेरेर बस्ने होइन यो वर्षको राजश्वको लक्ष्य हासिल गरेर अगाडि बढ्नुपर्नेछ ।’

साथै उहाँले अर्थतन्त्रमा देखा परेको शिथिलतालाई प्रभावकारी ढंगले चलाउन सके राजश्वको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले आर्थिक वर्षको मध्यतिर आइपुगेको र समीक्षा गर्ने बिन्दुमा आइपुगेकाले विगतको ६ महिनाको राजश्व परिचालनको अनुगमन गरेर सही ढंगले काममा लाग्नका लगि भन्सार विभागका सबै कर्मचारिहरुलाई आग्रह गर्नुभयो ।

भन्सार विभाग थप जिम्मेवार र उत्तरदायी
यसैगरी नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको बताउनुभएको छ । उहाँले मुलुकको समग्र विकासका लागि व्यापारलाई भन्सारले अग्र स्थानमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्रले सबल अर्थतन्त्र निर्माण गर्न भन्सार विभागलाई थप जिम्मेवार र उत्तरदायी बनाएको छ । तर, भन्सार विभागमा देखिएका प्रक्रियागत झन्झटहरु कम हुनुपर्ने आवश्यक छ । वस्तुको मूल्यांकन पद्धति अनुसार समेत हुनुपर्छ । विभागका तजविधि अधिकारीहरुको अन्त्य हुनुपर्ने, प्रशासनिक पुनरावगलोकनका आदेशहरु प्रभावकारी कार्यान्वयन हुनुपर्ने लगायतका सुझावहरु उद्योग महासंघले दिएको छ । भन्सारले मुलुकको समग्र विकासको लागि व्यापारलाई अग्र स्थानमा राख्नुपर्ने आवश्यक देखिन्छ ।’

साथै उहाँले भन्सार विभागले राजश्वमा संकलनमा उच्च ध्यान दिनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *