मनिषा बस्नेत
काठमाडौँ, १४ माघ । पश्मिना उद्योगीहरुले पश्मिनाका लागि पकेट क्षेत्र घोषणा गर्न माग गरेका छन् । अर्बौँ मूल्यको पश्मिना विदेश पठाइरहेका उद्योगी एवम् व्यवसायीहरुका लागि सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ ।
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले सरकारले प्रविधि सुरक्षासहित भेडा च्याङग्राको लागि हिमाली भेगमा पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने बताउनुभयो ।
सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित ‘पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ बनाएपनि प्रभावकारी कार्यान्वयन नभएको उनीहरुको भनाइ छ ।
नेपाली पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा माग उच्च भएपनि सो अनुसारको उत्पादन गर्न नसक्दा निर्यात बढाउन नसकिएको साथै कच्चा पदार्थको अभाव भएको व्यवसायीहरुको गुनासो छ ।
नेपाल पश्मिना उद्योग संघकका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको कच्चा पदार्थका लागि हिमाली भेगमा भेडा च्याङ्ग्राको चरण क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । हिमाली भागमा भएको चरण क्षेत्रलाई व्यवस्थित बनाएर पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने उहाँको माग छ ।
‘पश्मिनाको कच्चा पदार्थको सवालमा नेपालको हिमाली भागमा भएको चरण क्षेत्र अथवा खर्कहरु छन् जहाँ लाखौँ लाख भेडा च्याङग्रा पाल्न सकिन्छ । त्यो क्षेत्रमा कतै निकुञ्जले बिथोल्ने, कतै गाउँका मुखियाहरुले चराउन दिँदैनन् । बाटो छैन । व्यवस्थित तरिकाले भेडा च्याङग्रा पाल्ने हो भने कच्चा पदार्थमा आत्मनिर्भर रहने थियौं,’ उहाँले अगाडि भन्नुभयो, ‘पश्मिनाको पकेट क्षेत्र बनाएर पश्मिना, कार्पेट, तयारी पोशाकलाई चाहिने सामग्रीहरुका लागि पश्मिनाको पकेट क्षेत्र घोषणा गरिदियोस् । किसानका च्याङग्राहरुको बिमा गरिदियोस् । हिउँ परेर खान नपुग्ने ठाउँमा सरकारले दानाको व्यवस्था गरिदियोस् । बजार हामी ग्यारेन्टी गर्छौँ ।’
अध्यक्ष लामिछानेले ५० अर्बको निर्यात गर्ने वस्तुगत संघ संगठन एकै ठाउँमा रहेकाले सरकारले प्रविधि सुरक्षा र भेँडा च्याङग्राको लागि हिमाली भेगमा पकेट क्षेत्र घोषणा गरिदिनुपर्ने माग राख्नुभयो ।
उहाँले पश्मिना उद्योग एवम् व्यवसायका सवालमा सरकरका तीनै तह र मन्त्रालयहरुबीच एकआपसमा समन्वय नभएको पनि बताउनुभयो । जसले गर्दा किसानहरुसँग भएको कच्चा सामान उतै कुहिएर बसेको पनि बताउनुभयो ।
‘पश्मिनाका लागि कृषि, पर्यटन, उद्योग, वाणिज्य मन्त्रालयहरुबीच समन्वय नै हुँदैन । तीन तहका सरकार आफ्नै तरिकाले चलिरहेका छन् । हामीलाई पश्मिना चाहिएको छ तर किसानहरुसँग भएका कच्चा पदार्थ उतै कुहिएर बसेका छन् । यसलाई संयोजन तीन तहका सरकारले गर्नसके आत्मनिर्भर बन्न सक्नेछौं,’ उहाँले भन्नुभयो ।
उहाँले पश्मिना निर्यातको लागि कानुनी अड्चन नभएपनि प्रक्रियागत झन्झट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्यातको लागि कानुनी अड्चन छैन । सरकारले प्रोत्साहन गरेको छ । तर, प्रक्रियागत झन्झट असाध्यै छ । नीतिमा सहजता छैन । नीतिगत सहजिकरण हुनुपर्यो । भन्सारमा एकदमै समस्या छ । नीतिगत अवस्था दुःख लाग्दो भएपनि हामी नेपालमा नै केही गर्न चाहन्छौँ र सक्छौँ ।’
पश्मिनाको अन्तर्राष्ट्रिय बजारलाई मात्र हेर्न नहुने उहाँको बुझाइ छ । देशका ठमेल, पाटन, भक्तपुर, चितवनको सौराह, पोखरालगायतका टुरिष्ट बजार साथै तारे होटलहरुमा हुने पश्मिनाका पसलहरुमा पश्मिनाको राम्रो व्यापार हुने गरेको उहाँले सुनाउनुभयो । निर्यात तीनचार अर्ब र स्वदेशमै खपत दुई करोडजति रहेकाले पश्मिनाको बजार राम्रो रहेको उहाँको भनाइ छ ।
समस्याहरुका बाबजुत पनि पश्मिनाको व्यापार बढ्दोक्रममा रहेको उहाँले बताउनुभयो । उहाँले मुस्ताङ जिल्लालाई केन्द्रबिन्दु बनाएर डोल्पा, मुगु, हुम्ला, जुम्लासम्मको किसानहरुलाई तालिमको व्यवस्था गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पश्मिनाको व्यापार बढ्दोक्रममा छ । कोभिटको समयमा एक अर्ब ५४ करोडको डाटा देखिएको थियो भने अहिले तीन चार अर्बको डाटा देखिन्छ । घरेलु व्यापार खासै देखिँदैन तर सातआठ अर्बको विदेश नै जान्छ । हामी अब छिट्टै गोल्डेन वर्ष मनाउँछौँ भनेर उत्साहित छौँ ।’
बजारीकरणका लागि अन्तर्राष्ट्रिय बजारका मेलाहरुमा सहभागी हुने पनि उहाँले बताउनुभयो । सरकारी तथ्यांकले वार्षिक तीन अर्बको पश्मिना निर्यात हुने गरेको देखाए पनि पश्मिना उद्योग संघले भने सात अर्बको हुने दाबी गरेको छ ।
नेपालमा निर्मित पस्मिना विश्वका ५० मुलुकमा निर्यात हुने गरेको छ । च्यांग्राको रौँ पस्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो । यसलाई प्रशोधन गरी पस्मिना उत्पादन हुने गरेको छ ।
नेपाल न्यूज बैंक