काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले कुनै पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन् हुन नहुने बताउनुभएकोे छ ।
मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् भएको समेत समितिले हेर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् हुन नपर्ने हो । तर, यो समितिले पनि व्यक्तिलाई हिरासतमा लौजाँदै गर्दा मानव अधिकार हनन् भयो की भएन हेर्न जरुरी छ । साथै यो विषय कानुन, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ । पछिल्लो समय आम नागरिकहरुमाथि जसले प्रश्न गर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’
साथै उहाँले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले तीन वर्षभन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भीर उल्ङ्घन भएको बताउनुभयो ।
यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्य शेर बहादुर कुँवरले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन उपसमितिको प्रतिवेदन समेत बुझाउनुभएको छ ।