आज बिहिवार हरिशयनी एकादशी परेको छ । यो पर्व नेपाल र भारत लगायतका देशमा हिन्दू धर्मावलम्बीहरूले मनाउने गरेका छन् ।
यसलाई हरिशयनी, देवशयनी, विष्णुशयनी, पद्मा एवं शयन एकादशीको नामले पनि चिनिन्छ । यस एकादशीको व्रत प्रभावका कारण लोकमा भोग र परलोकमा मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । व्रत गर्न नसकेपनि व्रतकथालाई अवश्य पढ्ने र सुन्नुपर्ने धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
पुराणहरूका अनुसार, यस दिनबाट भगवान् विष्णु चार महिनाका लागि पाताललोकमा बलिको द्वारमा बस्ने गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा फर्कनुहुन्छ ।
अन्य पौराणिक कथामा यस दिनबाट भगवान् विष्णु चार महिना सागरमा शयन गर्ने भएका कारण यस एकादशीलाई हरिशयनी एकदशी भनिन्छ । धर्मशास्त्रका अनुसार, यो चार महिना भगवान् विष्णु निद्रामा हुने भएका कारण यस समयमा महत्त्वपूर्ण कार्य गर्न वर्जित गरिएको छ ।
यसबेलामा विवाह लगायतका काम गर्न नहुने धर्मशास्त्रमा व्याख्या गरिएको छ । ब्रह्मवैवर्त पुराणका अनुसार, हरिशयनी एकादशीको निकै ठूलो महत्त्व छ । यस एकादशीमा व्रत बस्नाले सबै मनोकामना पूरा हुने अनि सबै पाप नष्ट भई भगवान् हृषीकेश प्रसन्नु हुनुहुनेछ ।
यो महान् पुण्यमयी, स्वर्ग र मोक्ष प्रदान गर्ने तथा समस्त पाप हर्ने व्रत हो । हरिशयनी एकादशीको दिनदेखि शुरू हुने चतुर्मासमा प्रतिदिन पुरुषसूक्तको जपको पनि महात्म्य छ ।
चतुर्मास भगवान् विष्णुको निद्राकाल हुनाले विवाह, व्रतबन्ध, गृहप्रवेश लगायतका मांगलिक कार्यमा विराम लाग्छ । यस अवधिमा साधुसन्तहरू एक स्थानमा बसेर विशेष साधना गर्छन् ।
भगवान् विष्णुको शयनका विषयमा अनेकौं कथा प्रचलित छन् । भविष्यपुराणमा उल्लेख भएअनुसार, एकपटक युधिष्ठिरले भगवान् श्रीकृष्णलाई सोधे, ‘प्रभो, देवशयन के हो ? देवता नै सुतेपछि संसार कसरी चल्छ ? देव किन सुत्नुहुन्छ ?’
श्रीकृष्णले उत्तर दिनुभयो, ‘राजन्, कुनैबेला योगनिद्राले भगवानलाई आफ्नो अंगमा स्थान दिन प्रार्थना गरिन् । त्यसपछि भगवानले योगनिद्रालाई नेत्रमा स्थान दिँदै चार महिना यहीँ बस्नू भन्नुभयो । त्यसपछि योगनिद्राले मेरो नेत्रमा वास गरिन् ।’
श्रीमद्भागवत महापुराणका अनुसार, श्रीविष्णुले एकादशीको दिन आततायी शंखासुरको वध गरेपछि परिश्रमबाट थाकेर क्षीरसागरमा शयन गर्नुभएको थियो । त्यसैले यस तिथिलाई देवशयनी एकादशी भनियो ।
तुलसी रोप्नेआजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
तीर्थ समान तुलसीको मठरुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।
चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।
राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।