महाकाली नदीले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बगाएको छ । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि नदीमा बढेको बहावले कटान गर्दा घर बगेको हो ।
नेपालतर्फ पनि महाकाली नगरपालिका वडा नम्बर १ र दुहु गाउँपालिका वडा नम्बर ३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको स्थानीयले बताएका छन् । अहिले नदीले खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताउनुभयो । लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ ।
भारततर्फ एउटा घर बगाएको जानकारी आएको र नेपालतर्फ घरमा क्षति नभए पनि खेत कटान भइरहेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । आज बिहान ५ बजेदेखि खोलिएको बाँधको ढोका बेलुका ८ बजेसम्म खुला रहनेछन् ।
दार्चुलाको सदरमुकामको रिङ्नेताल क्षेत्र नजिक नेपालतर्फको तटबन्धको माथिल्लो भागमा पनि पानीको बहाव आउन थालेको छ । त्यस क्षेत्रमा भारतले नेपालले भन्दा अग्लो तटबन्ध निर्माण गर्दा नदीको बहाव यतातर्फ मोडिएकाले नदीमा पानीको बहाव अझ बढे तटबन्ध माथि पानी पुग्ने सम्भावना रहेको छ ।
महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ को सिमानाको बस्ती श्रीबगर उच्च जोखिममा रहेको छ । त्यहाँ एक वर्ष अगाडि पनि बाढीले जनधनको क्षति गरेको थियो ।