जजरकोट भूकम्प : २८३ जना घाइते डिस्चार्ज, ८९ जनाको उपचार हुँदै

भूकम्पमा परी घाइते भएका २८३ जना डिस्चार्ज भएका छन्। विभिन्न अस्पतालमा उपचारत उनीहरू निको भएपछि घर फर्किएका हुन्। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ३७२ जना घाइते भएका थिए।

घाइतेमध्ये २८३ जना उपचारपछि स्वास्थ्य लाभगरी घर फर्किएको प्रहरीले बताएको छ। घाइतेमध्ये ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइते १ जनाको ट्रमासेन्टर काठमाडौंमा, १० जनाको टिचिङ अस्पताल काठमाडौं,३४ जनाको भेरी अस्पताल नेपालगञ्ज,२१ जनाको प्रदेश अस्पताल सुर्खेत र १२ जनाको जाजरकोट जिल्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उपचारत घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार ४२ जना मध्यम र ३९ जना सामान्य अवस्थाका घाइतेको उपचार भइरहेको छ।

भूकम्पमा परी हालसम्म १५३ जनाको मृत्यु भएको छ। हजारौं भौतिक संरचना भत्किएका छन्। भूकम्प पीडितहरुका राहत,उद्दार र पुनरस्थापनाका लागि विभिन्न राजनीतिक दल, स्थानीय तह,संघसंस्था र दातृनिकायले सहयोगको घोषणा गरिरहेका छन्।

पीडितहरूको उद्धार कार्य र राहत वितरण जारी छ। तर राहत नपाएका कतिपय भूकम्पपीडितले खुला ठाउँमा भोकै रात कटाउन बाध्य भएको गुनासो गरेका छन्।

भूकम्प गएको एक हप्ता वितिसक्दा भूकम्पपीडितहरूले पर्याप्त मात्रामा राहत नपाएको दु:खेसो पोखेका छन्। अत्यावश्यक सामग्री नपाउँदा कतिपय भूकम्पपीडित बिरामी पर्न थालेका छन्।