भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण

    भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्च (एफडब्लूएलडी) ले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गरेका छन् ।

    एफडब्लूएलडी सचिवालयको तर्फबाट अधिवक्ता नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले विज्ञप्ति निकालेर गृह मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायहरुको ध्यानाकर्षण गराएको बताएका छन् ।

    विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न माग गरिएको छ ।

    आयोगले दिएको जानकारी अनुसार भूकम्पबाट प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्ष मुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् ।

    १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९०० सुत्केरी रहेका छन् । रुकुम पश्चिममा ५ वर्ष मुनिका बालबालिका ५ हजार ५६७ जना प्रभावित भएको, गर्भवती १ हजार ६८ जना, सुत्केरी ७३९ जना भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।