नेकपाका नेताद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामलको भात खाएको फोटोले मेडिकल माफियासितको उठबसको चर्चा त गरायाे नै । जुम्लाको मार्सी चामलको पनि विज्ञापन र प्रवर्द्धन पनि हुन पुग्यो । अहिले बजारमा मार्सी चामलको मागअनुसार आपूर्ति हुन नसकेको बताउँछन् व्यापारीहरू । साथै किसानले पनि उचित मूल्य पाउन थालेका रहेछन् ।
माघे संक्रान्तिको बेला बजारभरि जतासुकै तरुल देख्दा मलाई भने तरुलको पनि मार्सीको जस्तै प्रचार भइदिए त राम्रै हुन्थ्योजस्तो लाग्यो । सांस्कृतिक पर्व माघे संक्रान्तिले मात्रै यसको माग र आपूर्तिको ९० प्रतिशत थेगेको छ । भलै तरुल बाह्रै महिना खान सकिने पोषिलो खानेकुरा हो, सांस्कृतिक चाड नै कुर्नु पर्दैन । न यसको सम्भाव्यताबारे गतिलो अनुसन्धान छ न भएको उत्पादनको पनि उचित मूल्य र बजार नै छ ।
माघे संक्रान्तिमा सेलरोट चाकुलगायत अन्य परिकारसित उसिनेको तरुल खाने गरिन्छ । माघे संक्रान्तिकै आसपास केही हप्ता तरुल तरकारीको रूपमा पनि खाने गरिन्छ । तर, यसलाई प्रशोधन गरेर लामो समय राख्ने र विभिन्न परिकारसँग मिसाएर खाने चलन छैन । विभिन्न देशमा तरुलको प्रयोग कसरी हुने गर्छ, त्यो हेर्यो भने हामी पनि त्यसलाई अवलम्बन गर्न सक्छौँ ।
कतिपय उपयोगी खानेकुराबारे कहिलेकाहीँ चर्चा हुने गर्छ । तर, त्यसको व्यवसायीकरण र प्रवर्द्धनमा भने खासै कसैले चासो दिएको पाइँदैन । तरुल माघे संक्रान्ति नजिकिँदै गर्दा बजारभरि देख्न पाइन्छ । यो सांस्कृतिक पर्वमा प्रयोग हुँदै आएको कारणले मात्र । हुन त सांस्कृतिक हिसाबले पनि कतिपय खानेकुराहरू किन छनोटमा पर्दै आए, त्यसका कारणहरू पक्कै होलान्। अहिलेको आधुनिक जमानामा धेरै कुराले उपयोगी खाद्यवस्तुबारे थप खोज अनुसन्धान र त्यसको प्रयोगलाई व्यापकता बनाउनेतिर हाम्रो ध्यान पुगेको देखिँदैन ।
हाम्रो आधुनिक जीवनशैलीका कारण बजारमा उपलब्ध कम गुणस्तरका विषादी र अन्य मिसावटसहितका विभिन्न खाने कुराले परम्परागत खाने कुरालाई विस्थापित गर्दै लागेका छन् । खाद्यसम्बन्धी जानकार विज्ञहरूका अनुसार हामीले सकेसम्म खानेकुरा छनोट गर्दा मौसमअनुसार पाइने खानेकुरा, पौष्टिक तत्त्वहरू धेरै पाइने र विषादी नभएको खाने कुरा रोज्नुपर्छ । बेमौसमी फल या त त्यसको अनुवंश नै परिमार्जन गरी फरक हावापानीमा उत्पादन गरिएको हुन्छ या त रैथाने प्रजातिको सट्टा कतैबाट आयातित हुन्छ । यस्ता खानेकुरा पोषिलो नहुन पनि सक्छन् र स्वास्थ्यका लागि उपयुक्त नहुन पनि सक्छन् ।
हामी बदलिँदो आधुनिक संस्कृतिको पछि दौडिँदै गर्दा हाम्रा खानपान पनि त्यसैअनुसारका हुँदै जाने रहेछन् जसले गर्दा हाम्रा रैथाने र स्वस्थ खाने कुराले पनि स्थान नपाउने, रोजाइमा नपर्ने, होटल रेस्टुरेन्टका मेनुमा नभेटिने हुँदै जाने रहेछन् । त्यसैले खाद्यसम्बन्धीका जनचेतना कार्यक्रम, विशिष्ट भनिएका व्यक्तिहरूबाट पनि त्यसको प्रचार हुने गरी प्रयोग भइदियो भने बिस्तारै हाम्रो खाद्य संस्कृतिमा यस्ता खाने कुराले स्थान पाउँदै जान्छन् ।
तरुललाई हामी कन्दमुल, गिट्ठा, भ्याकुर समूहको खाने कुरा मान्छौँ । तरुलको वैज्ञानिक नाम डाएस्कोरा हो । संसारभरमा ६ सय प्रजातिका तरुल पाइन्छन् भने नेपालमा त्यसको करिब २.२ प्रतिशत अर्थात् १३ प्रजातिका पाइन्छन् । कतिपय जंगलमा पाइने स्थानीय नामअनुसार तिनीहरूको वर्गीकरण गर्दा थुपै अन्य प्रजाति पनि भेटिन्छन् । कतिपय तरुल तीतो, कोक्याउने र विषाक्त पनि भेटिन्छन् ।
तरुल औषधिजन्य जडीबुटी हो । झुपुक्क रौँजस्ता जराले ढाकेको गानोको रूपमा पाइने कोट्याउँदा पहेलो रंगको भ्याकुरलाई कुकुर तरुल ( Dioscorea deltoidea) भनिन्छ । यसलाई हर्मोन गडबडी सम्बन्धित औषधि बनाउन प्रयोग गरिन्छ । औषधि प्रयोजनका लागि जडीबुटी निकासी गर्नेहरूले वनमा पाइने कुकुर तरुल पनि संकलन गरेर बिक्री गर्दा यो दुर्लभ हुँदै गइरहेको छ । जंगल, पाखा पखेरा बारीमा सजिलै उम्रने र हुर्कने तरुलखेती गर्न पनि सजिलो छ । तरुललाई धेरै मेहनत गर्नु नपर्ने खेतीको रूपमा लिन सकिन्छ । अर्कोतिर उपभोक्ताको तर्फबाट हेर्दा विषादी नमिसाइएको पोषिलो र सस्तो खाद्य हो तरुल ।
सामान्यतया हामी घर तरुल र वन तरुल भनेर यसलाई दुई भागमा वर्गीकरण गर्छौं । घर तरुल बारी खेतका कान्लामा रोपिन्छ, कुनै रुख वा थाक्रो भेट्यो भने तरुलका लहरा फैलिन्छ र लहरामा दाना पनि लाग्छ । ती दानाहरू पनि तरकारीको रूपमा खान सकिन्छ र बिउको रूपमा पनि प्रयोग गर्न सकिन्छ । सामान्यतया तरुलको गानो अर्थात् माथिल्लो भाग (भेट्नो ) नै बिउको रूपमा माटो मुनि गाडेर छाडिन्छ । मुख्य तरुलको भाग भने जमिन मुनि हुन्छ, बिरुवाको जरा नै तरुलको रूपमा विकास हुँदै जान्छ । एउटै बोटमा १०/१२ केजी सम्म तरुल हुन सक्छ ।
आजभोलि ८/१० फिट अग्ला ठूला पाइपहरू बारीका कान्लामा उभ्याएर राख्ने र तिनीहरूमा माटो, मल भरेर खेती गरिन्छ ताकि खन्ने बेलामा पाइप लडाएर सजिलै माटो हटाएर तरुल निकाल्न सजिलो होस् भनेर । कतिपय ठाउँमा थोत्रा प्लास्टिक, बोरामा माटो मल भरेर तरुल रोपेर कान्लामा खेतमा राखेको पनि देखिन्छ ।
मिल्किएको जग्गामा थोरै श्रमबाट पनि तरुल खेती गर्न सकिन्छ । अहिले देशका विभिन्न सामुदायिक वनबाट पनि कसरी आम्दानी लिन सकिन्छ भनेर ‘कृषि वनको’ अवधारणा पनि आएको छ । तरुललाई वनभित्र नै संरक्षण गर्ने र खेतीकै रूपमा पर्याप्त उत्पादन गर्ने हो भने पर्यटन व्यवसायलाई पनि यसले मद्दत पुर्याउने देखिन्छ ।
पोषण तत्त्व र स्वास्थ्यको हिसाबले तरुल
तरुलमा प्रशस्त कार्बोहाइड्रेट, खनिज, प्रोटिन भिटामिन पाइन्छ । १०० ग्राम तरुलमा २७ ग्राम कार्बोहाइड्रेट, २ ग्राम प्रोटिन, ३.३ ग्राम फाइबर ,२४ मिलिग्रामसम्म फलाम पाइन्छ । यदि १०० ग्रामलाई नै दैनिक उपभोगको मात्रा मान्ने हो भने हामीलाई दैनिक चाहिने भिटामिन सीको मात्राको २० प्रतिशत सम्म पाइन्छ । पोटासियम (१९ प्रतिशत), म्याङ्गानिज (१९ प्रतिशत), तामा (८ प्रतिशत), म्याग्नेसियम (५ प्रतिशत) पाइन्छ । तरुल स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी मानिन्छ । यसमा एन्टी अक्सिडेण्ट विशेषता हुने भएकाले क्यान्सर मुटुको रोग, सुगर जस्ता समस्या कम गराउन मद्दत गर्छ ।
बालबालिकाको दिमागको विकास, हड्डीको विकासमा यसले सहयोग गर्छ । तरुलमा चिल्लो पदार्थ कम हुने भएकाले तौल घटाउनु पर्नेहरूका लागि पनि सिफारिस गरिन्छ । महिलाहरूको हर्मोन गडबड भएर मासिक चक्रमा समस्या छ भने तरुलले हर्मोन सन्तुलन कायम गराउन मद्दत गर्छ ।
तरुलका थुप्रै स्वास्थ्य लाभहरू छन् तर धेरै खाँदा पेट दुख्ने हुन् सक्छ, मिर्गौलाका बिरामीले डाक्टरको परामर्श लिएर मात्र खाने गर्नुपर्छ । कतिपय प्रजातिका तरुल मिर्गौलालाई खराब असर गर्ने पनि हुन्छन् । मिर्गौलाका बिरामीले पोटासियमको मात्रा नियन्त्रित गर्न विशेष ख्याल राख्न जरुरी हुन्छ ।
तरुलको प्रयोग
नेपालमा तरुललाई पनि मुख्य खाद्य वस्तुको रूपमा प्रयोग गरेर जीविका धान्ने जाति चेपाङ हो । नेपालमा पाइने १३ प्रजातिका तरुलमध्ये १० वटा त चेपाङहरूले प्रयोग गर्दै आइरहेका छन् । नौवटा खान नै प्रयोग गर्छन् भने एउटा सरसफाइका लागि साबुनको सट्टा प्रयोग गर्छन् । धादिङ, चितवनका चेपाङ बस्तीका मानिसहरूमा अझै पनि जंगली गिठ्ठा भ्याकुर र कन्दमुल खोजेरै गुजारा टार्ने गर्छन् ।
चेपाङ बस्तीका अलावा पहाडी गाउँघरका बस्तीमा पनि तरुल एक डेढ महिनाका लागि तरकारी पुग्ने गरी लगाएको पाइन्छ । कतिपयले जंगलमा पाउने वन तरुल पनि खनेर ल्याउने र तरकारी खाने गरेको पाइन्छ । व्यावसायिक रूपमा तरुलको उत्पादन भने सर्लाहीमा धेरै पाइन्छ । काठमाडौंमा अधिकांश तरुल सर्लाहीबाट आउने गर्छ ।
संसारभर खपत हुने तरुलको उत्पादनमध्ये ७० प्रतिशत हिस्सा नाइजेरियाले ओगटेको छ । अफ्रिकामा तरुलको प्रयोग धेरै नै हुन्छ । एसियामा पनि यसको प्रयोग बढ्दो छ । युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशहरूमा प्रशाेधन गरिएको तरुलको धुलो धेरै प्रयोग हुने गर्छ । हाम्रो जस्तो न्यून आम्दानी हुने मुलुकमा त यस्ता खाद्य वस्तु उत्पादनमा विशेष जोड दिन जरुरी देखिन्छ ।
आयआर्जन बढाउन सकिने विकल्पको रूपमा यसलाई स्थानीय सरकारले निम्न वर्गका किसानहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । नयाँ प्रविधिको प्रयोग गर्दै भण्डारण गरेर राख्न मिल्ने, प्रशोधन गरेर बजारीकरणको प्रबन्ध मिलाइदिने हो भने खपत पनि बढ्दै जान्छ र आर्थिक क्षेत्रमा तरुलको पनि राम्रो योगदान हुन सक्ने देखिन्छ ।