सामान्य रुघाखोकीमा नलिऔँ एन्टिबायोटिक्स

    सामान्य रुघाखोकीमा नलिऔँ एन्टिबायोटिक्स

    चिसोसँगै रुघाखोकीको समस्या बढेको छ । योसँगै आफैंले पसलबाट एन्टिबायोटिक किनेर खानेहरूको लामसमेत सानो छैन । तर चिसो मौसम र एन्टिबायोटिक दुवैको रुघाखोकीसँग सम्बन्ध हुँदैन ।

    सामान्य रुघाखोकीमा नलिऔँ एन्टिबायोटिक्स

    ‘जाडो याममा रुघाखोकी बढी देखिने गरे पनि मौसमको रुघ खोकीसँग कुनै सम्बन्ध छैन,’ वीर अस्पतालका प्रा.डा. अनिलकुमार मिश्र भन्छन्, ‘सामान्य रुघाखोकीमा एन्टिबायोटिकले कुनै काम गर्दैन ।’ चिसो याममा हामीमध्ये धेरैजसो भmयालढोका थुनेर घरभित्र बस्छौं, त्यसैले भाइरस संक्रमण बढी हुन्छ ।

    अमेरिकन लङ एसोसिएसन (एएलए) को तथ्यपत्र अनुसार रुघा थुप्रै प्रकारका भाइरसले गर्दा हुने नाक र घाँटीको सामान्य संक्रमण हो । रुघाखोकी एक सातासम्म रहन सक्छ । तर कहिलेकाहीं अझ बढी समयसम्म रहन सक्छ । बढी समय लिने रुघाखोकी मुख्यतः बालबालिका, बुढापाका र कमजोर स्वास्थ्य भएकाहरूलाई हुन्छ । रुघाखोकी अति सर्ने संक्रमण हो ।

    संक्रमित व्यक्तिको सिंगान वा हाच्छिउँबाट निस्किने तरल पदार्थको थोपामा भएको भाइरसको सम्पर्क रुघाखोकीले समाउँछ । शरीरमा भाइरस प्रवेश भएको एकदेखि तीन दिनभित्र रुघाको लक्षण देखिन थाल्छ । यसअन्तर्गत नाकबाट पानी बग्न थाल्छ, नाक बन्द हुन्छ, हाच्छिउँ लाग्छ, स्वाद र गन्ध थाहा पाउन कठिनाइ हुन्छ, घाँटी खसखस हुन्छ, खोकी लाग्छ । नवजात शिशु र बालबालिकालाई भने वयस्क र किशोरहरूको दाँजोमा छिट्टै ज्वरो आउँछ । यस्तै, धूमपान गर्नेमा भने नगर्नेको दाँजोमा कडा लक्षण देखिन्छ । वयस्क व्यक्ति औसत रूपमा वर्षेनि दुईदेखि चार पटकसम्म रुघाखोकीको सिकार हुन्छन् । बालबालिका ६ देखि आठ पटकसम्म पीडित हुने गरेका छन् ।

    रोग प्रतिरोधक क्षमता कम भएकाहरू बढी मात्रामा रुघाको चपेटामा फस्ने गरेका छन् । बालबालिका, बुढापाका, मधुमेहका रोगी, उच्च रक्तचाप, दम मुटु, एचआईभी/एड्स, क्षयरोग, हेपाटाइटिस र रक्तअल्पता भएकाहरूबाहेक कुपोषणका सिकारलाई समेत छिट्टै रुघा लाग्छ । सम्वेदनशील शरीर र छिट्टै एलर्जी हुनेहरूलाई समेत रुघाले छिट्टै समात्छ ।

    ‘घाँटी खराब भएको बेला, भाइरल संक्रमणमा वा रुघाखोकीमा तुरन्तै एन्टिबायोटिकको सेवन गर्नु हुँदैन,’ प्रा.डा. मिश्र भन्छन्, ‘एन्टिबायोटिक उपयोग गर्नुपर्छ वा पर्दैन भन्ने निर्णय चिकित्सकलाई गर्न दिनोस् । आफू जान्ने नहुनुस् ।’

    अमेरिकामा अन्य रोगको दाँजोमा रुघाको समस्याले गर्दा नै सबैभन्दा बढी व्यक्ति चिकित्सककहाँ पुग्छन् । अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन -एफडिए) ले दुई वर्षमुनिका बालबालिकालाई औषधि पसल लगायतका ठाउँबाट बिनापुर्जा किन्न पाइने रुघाखोकीको औषधि -ओभर द काउन्टर ड्रग) नदिने चेतावनी दिन्छ । एफडिएका अनुसार यस्ता औषधिले बालबालिकाको रुघाखोकीको कारणको उपचार गर्न सक्दैनन्, उनीहरूको चिसो निको हुँदैन । यस्ता औषधिको सेवनले मुटुको चाल तीव्र हुने, जीउ काम्ने जस्ता साइड इफेक्ट हुने गर्छन् । रुघाखोकी सामान्यतः एन्टिबायोटिकबिना नै निको
    हुन्छ । ‘धेरैजसो रुघाखोकी र घाँटीको खसखसको राम्रो उपचारको तरिका टन्न पेयपदार्थको सेवन र आराम गर्नु हो,’ प्रा.डा. मिश्र भन्छन्, ‘तपाईंलाई रुघाले करिब दुई सातासम्म सताउन सक्छ । त्यस्तो बेला खोकी लाग्ने र खकार निस्कने पनि हुन सक्छ ।’
    रुघाको लक्षणलाई सहन प्यारासिटामोल जस्तो औषधि लिन सकिन्छ । ‘यदि तपाईंको रुघा तीन साताभन्दा बढी समयसम्म कायमै रहे वा तपाइर्ंलाई सास लिन असजिलो भए, छाती दुख्न थाले वा तपाईंलाई पहिलेदेखि नै छातीको समस्या भए चिकित्सकको सल्लाह लिनोस्,’ मिश्र भन्छन् ।
    नेपालमा सामान्य रुघाखोकी बारे कुनै खासै अध्ययन नभए पनि युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमेन सर्भिस, नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज -एनआईएआईडी) को तथ्यपत्र अनुसार अमेरिकामा वर्षेनि ६ करोड २० लाख रुघाका मामिला पाइने गरेका छन् ।

    रुघाको भाइरसले पिनास, कानको संक्रमण, ब्रोङ्काइटिस लगायतका शरीरमा अन्य संक्रमण हुने बाटोसमेत

    बनाउँछ । सामान्य समस्या धेरै दिनदेखिको खोकीसँगै पिनासको संक्रमण समेत हो । यदि कसैलाई दम, दीर्घकालीन ब्रोङ्काइटिस छ भने यो अवस्थाको लक्षण रुघा निको भइहाले पनि थुप्रै सातासम्म बिग्रेको स्थितिमा देखिन्छ ।
    रुघाखोकी सामान्य घरेलु प्रक्रियाले निको नभए, १०२ डिग्रीभन्दा बढी ज्वरो आए, जीउ कामे, टाउको निकै दुखे, घाँटी बांगिए, वान्ता भए, सास फेर्न असजिलो भए, छाती दुखे तुरन्त चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । घाँटीको स्टेप्टोकोकल संक्रमणका कारण यस्तो हुन सक्छ र यस्तो स्थितिमा भने एन्टिबायोटिक आवश्यक हुन सक्छ । कहिलेकाहीँ रुघाखोकी गम्भीर रोगको लक्षणसमेत हुन सक्छ । रुघाखोकी लागेका बेला सास फेर्न असजिलो हुने वा छिटछिटो सास फेर्ने बालबालिकालाई फोक्सोको संक्रमण भएर निमोनिया हुन सक्ने सम्भावना हुन्छ । ‘यो एउटा प्राणघातक स्थिति हो, यसमा तुरुन्त अस्पताल पुग्नुपर्छ,’ मिश्र भन्छन् ।

    चिकित्सकीय पुर्जाबेगर बिक्री हुने रुघाखोकीका औषधिहरूले यसका लक्षणबाट अस्थायी छुटकारा दिन सक्छन् । एन्टिबायोटिक सामान्य रुघाखोकीमा उपयोग गर्नुहुन्न । रुघाखोकीबाट उत्पन्न हुने ‘ब्याक्टेरियल’ जटिलतामा मात्र एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।
    लसुन, मह, कागती, मेन्थल, जिंक, भिटामिन सी रुघाखोकीको उपचारका लागि उपयुक्त मानिने परम्परा छ तर वैज्ञानिक अध्ययनले यीमध्ये कुनै वस्तुलाई पनि यसको उपचारका लागि उपयुक्त बताएको छैन । रुघाखोकी लाग्दा पर्याप्त तरल पदार्थ खानु उपयुक्त हुन्छ । दिनहुँ आठ गिलास पानी वा फलको रस खाने गर्नुस् । यसले नाक र घाँटीलाई सुख्खा हुनबाट बचाउँछ । यसले नाकभित्रको झिल्ली आर्द्र रहेर नाकबाट तरल पदार्थ निस्किन सजिलो हुन्छ ।

    रुघाखोकी लागेका बेला कफी, चिया, कोल्ड डि्रंक्स खानुहुन्न । अल्कोहल भएको कुनै पनि पेय पदार्थ लिनुहुन्न । क्याफिन र अल्कोहलले शरीरमा डिहाइड्रेसन -पानीको कमी) गराउँछ । चुरोट खानुहुन्छ भने छोड्नुस् । चुरोटका अम्मलीबाट समेट टाढा बस्नुस् । चुरोट खानेहरूको छेउछाउमा भएको धुँवाले समेत तपाईंको घाँटी खसखस गरेर कफ बढाउँछ । तपाइ कार्यालय वा स्कुल जानुहुन्छ भने यसले निको हुने समयलाई बढाउँदैन । तर राम्रो नागरिक बन्नुस् । टिस्यु पेपरको उपयोग गर्नुस् र अन्य व्यक्तिलाई संक्रमित हुनबाट जोगाउन हात साबुन पानीले बारम्बार धुने गर्नुस् । संक्रमण सकेसम्म अरूलाई नसार्न हात मिलाउने होइन, नमस्ते गर्ने बानी बसाल्नुस् ।

    रुघाबाट जोगिन के गर्ने ?
    रुघाखोकीबाट जोगिनु अत्यन्त कठिन काम हो । तर संक्रमित व्यक्तिको निकट सम्पर्कबाट भरसक टाढै बस्नुपर्छ । रुघाखोकी सुरु भएको दोस्रोतेस्रो दिनसम्म रोगीले अन्य व्यक्तिलाई बढी संक्रमित पार्छ । संक्रमित व्यक्तिलाई वा ती व्यक्तिले छोएका वस्तुलाई छोएपछि हात साबुनपानीले राम्ररी धुनुपर्छ । सामूहिक तौलियाको उपयोग गर्नुहुन्न । संक्रमित व्यक्तिसँगको निकट सम्पर्कबाट सम्भव भएसम्म जोगिने प्रयास गर्नुपर्छ ।
    चिसो र सुख्खा हावाबाट बच्नुपर्छ । चिसो याममा हावामा बाफको मात्रामा कमी आउँछ । सुख्खा हावा सुन्निएको घाँटीका लागि पीडादायक हुन्छ । यो स्थितिबाट जोगिन ठूलो मुख भएको भाँडोमा पानी राखेर हिटरमा राख्नुपर्छ ।

    कोठामा बाफ उड्नाले हावामा बाफको स्तर बढ्छ र तपाईंले राहत अनुभव गर्नुहुन्छ । नुन पानीले कुल्ला गर्नुपर्छ । सहरी वातावरण र प्रदूषणको कारण केही व्यक्तिको घाँटी बारम्बार बिगि्रन्छ । यसमा समेत कुल्ला उपयोगी हुन्छ । बिहान उठ्दा र राति सुत्दा मन तातो पानीले कुल्ला गर्नुपर्छ ।

    रुघाखोकीमा हुने जटिलता

    तपाईं औषधि लिनोस् वा नलिनोस्, रुघाखोकी केही दिनदेखि एक सातासम्ममा निको हुन्छ । यद्यपि रुघाखोकीको भाइरसले पिनास, ब्रोङ्काइटिस वा कानलगायत अन्य संक्रमणका लागि बाटो खोल्न सक्छ ।
    ‘यदि तपाइलाई दम, क्रोनिक ब्रोङ्काइटिस वा धूम्रपानको अम्मलीहरूमा देखिने इम्फोइसिमा छ भने तपाईंमा यस्ता लक्षणहरू धेरै सातासम्म देखिन्छन्,’ मिश्र भन्छन्, ‘यस्तो स्थितिमा भने चिकित्सकीय सल्लाहअनुसार नै सावधानी अपनाउनुपर्छ ।’