मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम छ, शंका नगरौं : मन्त्रालय

    मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम छ, शंका नगरौं : मन्त्रालय

    खानेपानी मन्त्रालयले मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध भएको दाबी गरेको छ। मंगलबार मन्त्रालयले अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर उपभोक्ताको धारामा वितरण गरिएको दाबी गरेको हो।

    मन्त्रालयले माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएपनि क्रमशः सफा पानी प्रवाह हुने जनाएको छ।

    ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ।’मन्त्रालयका प्रवक्ताले जारी गरेको अपिलमा भनिएको छ, ‘पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ।’

    मेलम्चीको पानी सोमबारबाट उपभोक्ताको धारामा पठाइएको छ। मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न प्रयत्नशील रहेको जनाएको छ।