प्रहरीलाई चाडपर्व बिदा छैन, तिहारका लागि ४८ हजार मैदानमा छन् : एसएसपी कार्की [भिडिओ]

काठमाडौँ, १४ कात्तिक । दसैँ, तिहार, छठलगायत ठुला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ । प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको सुरक्षा योजना बनाएको छ । र कार्यानवयन गर्दै आइरहेको छ ।

तिहार भन्नसाथ रंग र बत्तिको चाड हो । र दाजुभाइ, दिदीबहिनीको भेटघाट हुने पर्व पनि हो । त्यसैले मानिसहरुको आवतजावत बाक्लो हुनेगर्छ । जसका कारण सडकमा चेकजाँच गर्ने मापसे, लापसे गरेको जाँच गर्ने अनियन्त्रित किसिमले सवारी चलाउने जस्ता गतिविधिहरुलाई विशेष रुपमा हेरिरहेका हुन्छौँ । नियमित रुपमा ट्राफिक प्रहरी मार्फत निगरानी बढाएका हुन्छौँ । मद्धतका रुपमा सिभिल प्रहरी पनि खटाइएको हुन्छ । मेला, भिडभाडमा लुटपाट वा चोरी हुने, झगडा हुने भएकाले त्यस्ता ठाउँमा प्रहरीको निगरानी हुन्छ । त्यसलाई यान्त्रिक किसिमले सिसिटिभीमार्फत् वा ड्रोनमार्फत पनि निगरानी गरिरहेका छौँ ।

तिहारमा देउसीभैलो खेल्ने, रमाइलो गर्ने, रातिसम्म बसेर होहल्ला गर्ने जस्ता क्रियाकलाप हुने हुनाले रातिको गतिविधिलाई निश्चित समयसम्म निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिले आफ्नो ठाउँ, अवस्था हेरेर, कुनै ठाउँमा अलि बढी समय र कुनै ठाउँमा कम समय हेर्ने गरी व्यवस्थापन गरेका छौँ ।

नेपालका सीमा क्षेत्रबाट स्वदेशमा कहिल्यै उत्पादन नभएका, पुँजी पलायन हुने किसिमका बस्तु वा पटका तथा पटकाजन्य पदार्थहरुको दुरुपयोगले स्वास्थ्यमा र वातावरणमा खराबी हुने र त्यसले दुर्घटना पनि हुनसक्ने भएकाले निरुत्साहित गर्ने हाम्रो अभियान नै छ ।

यी र यस्ता विषय वा मुद्दाहरुका सवालमा कुरा गर्दा कानुनी रुपमा विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । ठुला प्रकृतिका बिष्फोटक पदार्थको हकमा तीन वर्षभन्दा बढी कैद साथै मध्यमको छ भने दुई वर्षसम्म कैदको व्यवस्था छ । पटका पट्काएर कसैको क्षति हुन गएमा, उजुरी आएमा, कसैको स्वास्थ्यमा गम्भीर असर परेको खण्डमा, तोडफोड वा टुटफुट भएको अवस्थामा त्यस्ता व्यक्तिविरुद्ध पनि मुद्दा दर्ता हुन्छ । बालबालिकाको हकमा अविभावकहरुलाई र व्यापार गर्ने पटकाको भण्डारण गर्नेलाई कानुनी दायरामा ल्याउनेपर्ने हुन्छ । त्यसमा तीन महिनादेखि सुरु भएर कारबाही जरिवाना साथै थुना पनि हुन्छ । त्यसैले रमाइलो गर्ने बेला जेल जानबाट बच्न यसअघि नै सूचना जारी गरिसकेका छौँ ।

प्रतिबन्धलगाएका चिजहरुलाई कसैले प्रयोग गर्न पाउँदैन । गल्लीमा, चोक चोकमा, मेलामा, भिडभाडमा र मुलतः आर्थिक कारोबार हुने ठाउँहरु जस्तो–बैंक वित्तीय संस्था, सुनचाँदी पसल क्षेत्रमा सादा पोसाकमा तथा प्रहरीकै पोसाकमा प्रहरी रहन्छन् । सुरक्षाको लागि प्रविधिको प्रयोगसँगै खटिन्छ ।

धेरैजसो मानिसहरु चाडवाडमा नै रमाइरहेको बेला तस्करी गर्ने उद्देश्य राखेको हुनसक्छ । सीमा नाकाहरुबाट तस्करी गर्ने गराउने काम नहोस भन्नका लागि प्रहरी सशस्त्र प्रहरी सीमामा नै खटाइन्छ । कतिपय सन्दर्भमा राजस्व चुहावट नियन्त्रण गर्न र राजस्वमा योगदान पुर्‍याउने हिसाबले पनि त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने गरेका छौँ । क्रमशः सुरक्षालाई मजवुद बनाउँदै लगेका छौँ । पटकाजन्य वस्तु नेपालमा त उत्पादन हुँदै हुँदैन, भारतमा नै हुने हो । यस्ता वस्तुले पर्यावरणीय अवस्थामा प्रभाव पारिहेको हुन्छ । जुनसुकै देशमा उत्पादन भएको पटकाजन्य वस्तु ल्याउनेहरुलाई सिमानाकामा नै रोक्न चेक पोइन्टमार्फत् कारबाही गर्न र अवैध आयात हुने बिक्री एवम् भण्डारण गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउने कामा गरिरहेको छ ।

यसको साथै, कसैले सूचनाहरु प्रहरीलाई दिएको छु भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । मुलुकको लागि दिएको भन्ने ठान्नुपर्छ । मुलुकका खातिर पूर्वसतर्कता अपनाउन आमनागरिकले सहयोग गरेमा ठिक हुन्छ । त्यसैले सबैले नेपालमा विकास हुनुपर्छ, नेपालको पुँजी पलायन हुनु हुँदैन भन्नेहरु सबैले प्रहरीलाई सूचना दिन आग्रह पनि गर्छ ।

यातायात व्यवसायी महासंघ र व्यवसायीलगायत विभिन्न प्रकारको संस्थाहरुसँग भाडाको बारेमा प्रहरीको नियमित छलफल चलाइरहेको हुन्छ । उहाँहरुले पनि सहयोग गर्छु भन्नुभएको छ । अब यात्रु ठगिने, बीचबीचमा बसेर ठग्ने जुन प्रवृत्ति छ नियन्त्रण गर्न जरुरी छ ।

खाद्यन्नको कुरामा प्रत्येक पालिकाको जनप्रतिनिधिहरुले रहेका नागरिकहरु र मुलुकभरका नागरिकको हितको लागि काम गर्नुपर्ने हुनाले उहाँहरुको जिम्मेवारीमा छ । उपभोक्ता हितका लागि प्रत्येक पालिकाले काम गर्नुपर्ने हुन्छ । त्यसपछि जिल्ला प्रशासन, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा कमिटी बनाएर काम गरिरहेको छ ।

हामीले दसैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौँ । अति आवश्यक, बिरामी बाहेकलाई बिदा दिइएको छैन । अहिले करिब दसैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिएभने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन् । बिदा नदिएपछि सबै नै परिचालित हुने थियो ।

अहिले नेपालको सुरक्षा सामान्य छ । घटना, दुर्घटना नहुन् भन्ने हिसाबले पूर्वसतर्कता पनि अपनाएको छ । तिहार बत्तिको चाड भएको हुनाले आगलागीको घटना हुने, चोरी हुने, लुटपाट हुने, महिलाहरु माथि दुर्व्यवहार हुने जस्ता घटना हुनाले आमनागरिकहरुले नै यसलाई सभ्यता परीक्षाको रुपमा लिएर सहयोग गर्नु हुनेछ । चाडको सभ्यता र मूल्य, मान्यताको सुरक्षा गर्दै सुरक्षित भएर तिहार मनाउन सक्छौँ । यसको साथै सबैलाई सभ्य भएर चाड मनाउन आग्रह गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *