काठमाडौँ, २६ कात्तिक । रारा राष्ट्रिय निकुञ्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्रयाप जडान सुरु भएको छ ।
निकुञ्जभित्र पाइने ठुला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागिएको हो ।
र्यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाइ एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक/एक क्यामेरा राखी जाडो र गर्मी मौसममा अनुसन्धान गरिने बताइएको छ । प्रत्येक क्यामेरा ट्रयाप २१ दिनसम्म राखिने छ ।
त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापामगर, अनुसन्धान कर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाईं र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । सो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरिप्रसाद शर्माले गरिरहनुभएको छ ।
कात्तिक ५ देखि २१ दिनका लागि रारा राष्ट्रिय निकुञ्जको विभिन्न स्थान गरी ४२ स्थानमा क्यामराजडान गरिएको छ । विशेष गरी स्तनधारी जीवजन्तुहरुको र कस्तुरी मृग, रेडपाण्डाको अवस्थाबारे बुझ्ने भए पनि निकुञ्जभित्र रहेका वन्यजन्तुहरुको अहिलेको अवस्थामा कति कस्तो छ भन्ने हिसाबले क्यामरा जडान गरिएको त्रिभुवन विश्वविद्यालय विद्यार्थि वाचन प्रसाईंले बताउनुभयो ।
२०७३ सालका रारा राष्ट्रिय निकुन्जभित्र कस्तुरी, मृग, रेडपाण्डालगायत अन्य विभिन्न प्रजातिका वन्यजन्तु धेरै भेटिने देखिने गरेका थिए ।
पछिल्ला वर्षहरुमा चोरी, शिकारी, तीव्र वन फडानी, छाडा पशुचौपाय चरीचराउने गर्दा रारा राष्ट्रिय निकुञ्जको लापरवाहीले गर्दा केही स्थानमा मात्र वन्यजन्तुहरु भेटिए पनि विगतभन्दा पछिल्ला वर्षहरुमा रारामा रहेका वन्यजन्तुहरु लोप हुँदै गहिरहेको स्थानीयबासी बिर्ख बहादुर रोकायाले बताउनुभयो ।
रारा राष्ट्रिय निकुञ्जभित्र रहेका वन्यजन्तु, वनस्पति, चराचुररुङ्गीलगायत निकुन्जभित्र रहेका सबै क्षेत्रको रेखदेख संरक्षण अभिलेख राख्नका लागि जिम्मा पाएको रारा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुहरुको कुनै पनि अभिलेख नभए पनि रारा राष्ट्रिय निकुञ्ज, मध्यवति क्षेत्र, नेपाली सेना र सरोकारवाला निकायहरुले संयुक्त गस्ती गर्ने गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी धर्मजित साउदले बताउनुभयो ।