एक हप्ताभित्र निर्माण व्यवसायीहरुको भुक्तानी हुन्छ : मन्त्री पौडेल

काठमाडौँ, २२ मंसिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ र मासुको जस्तो भएको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उहाँले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होइन, फरक ठाउँमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार र निर्माण व्यवसायीको बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो । अथवा कस्तो सम्बन्ध विकास गरेर जानुपर्ने हो । हामी नदीका दुई किनारा हुन् । एकले अर्काको विरोध गरेर हाम्रो अभिभाराहरु पूरा हुन्छन् । हाम्रो साझा अभिभारा छैन । म के आग्रह गर्न चहान्छु भने हामी नदीका दुई किनारा होइनौँ, हामी फरक ठाउँमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दै छौँ । व्यवसायी र सरकारबीचको सम्बन्ध नङ र मासुको जस्तो सम्बन्ध हो ।’

यस्तै, उहाँले व्यवसायीहरुलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चहान्छु । तपाईंहरुले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोलिदेखि जानु तपाईंहरुले भोलिदेखि नै पाउनु हुन्छ । भोलि पाउनुभएन भने पर्सि पाउनुहुन्छ । १ हप्तामा पनि पाउनु भएन भने तपाईंहरु मकहाँ आउनुस्, कुन मन्त्रालय र निकायले तपाईंहरुलाई भुक्तानी दिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *