काठमाडौँ, २३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ ।
समाजसेवी एवम् भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणको अभियानमा लागिरहेको बताउनुभयो ।
‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेक पटक नवीनताको सुरुवात गरेको छु’प्रचण्डले भन्नुभयो, ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइसराइँ रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरिबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा मत्त्वत्वपूर्ण प्रयास थिए ।’
उहाँले तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै मत्त्वत्वपूर्ण रहेको उल्लेख गर्दै यसले जनतालाई नयाँ आशा जागृत गर्ने ढोकासमेत खोलेको बताउनुभयो । ‘म तेस्रोपटक प्रधानमन्नत्री हुँदा धेरैतिर निरासा थियो । भ्रष्टाचार डरलाग्दो गरी मौलाइरहेको थियो भने विभिन्न स्वरुपका विभेद समस्याको रुपमा देखिन थालेका थिए । आर्थिक रुपमा नेपाल जर्जर अवस्थामा थियो’ पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको उपलब्धि स्मरण गर्दै भन्नुभयो, ‘त्यो बेलामा मैले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानले जनतामा पर्न थालेको आशा जगाउने काम मात्रै गरेन, यसले समाजवाद निर्माणको ढोकासमेत खोलेको छ ।’
अब आफू सुशासन, सामाजिक न्याय र समृद्धिको यही एजेण्डामार्फत् समाजवाद निर्माणको अभियानमा अघि बढ्ने उल्लेख गर्दै उहाँले सहयोगका लागि सबैलाई आग्रह पनि गर्नुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले हरेक समुदायकोे पहिचान स्थापित गरेर मात्रै राष्ट्रिय एकता कायम गर्न सकिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिको रुपमा स्थापित गर्न आफूले मुख्यरुपमा जोड दिँदै आएको र सफल पनि भएको बताउनुभयो ।