आंकाक्षा धामी
काठमाडौँ, ५ पुस । संसारभर एकाएक फैलिएको कोरोना महामारी संक्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाँहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो ।
सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौँले रोजगारी गुमाउन पुगे । सयौँ सिनेमा घरहरु कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिडबाट अछुतो रहन सकेन । तर, पछिल्लो तीन महिनादेखि हलहरुको व्यवसाय राम्रो रहेको चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनले बताउनुभयो । नेपाल न्यूज बैंकले गरेको विशेष कुराकानीमा अध्यक्ष महर्जनले नेपाली सिनेमाहरुले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले आएर विगत तीन महिनादेखि नेपालको सिनेमा हलहरु राम्रो लयतर्फ फर्किएका छन् । धेरै वर्षदेखि हलहरुको अवस्था राम्रो थिएन । लगातार तीन, चार महिनादेखि सिनेमाहरुको एउटा बक्स अफिस पनि राम्रो भएकाले सिनेमा हलहरुको अवस्था राम्रो छ ।’
यसैगरी अध्यक्ष महर्जनले लगभग पहिलेको तथ्यांकअनुसार ४ सय ५० हलहरु सञ्चानमा रहेका थिए भने अहिले आएर १६० देखि ६५ वटा मात्र हलहरु सञ्चालनमा रहेको बताउनुभयो । उहाँले २८० वटा हलहरु बन्द अवस्थामा रहेको बताउनुभयो ।
उहाँले पहिला सुदूरपश्चिममा २१ वटा हल रहेको बताउनुहुँदै अहिले जम्मा एकवटा मात्र सञ्चालनमा रहेको बताउनुभयो । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल रहेको बताउनुभयो ।
बागमती प्रदेशमा ८१ वटा हलहरु बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा हलहरु बन्द छन् । यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरु बन्द छन् । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरु बन्द रहेको अध्यक्ष महर्जनले बताउनुभयो । तर, सरकारले थोरै मात्र संख्या बढाउन सहजीकरण गर्यो भने फिल्म क्षेत्र अगाडि बढ्न सक्छ ।
‘अब लगभग लगभग हामीसँग पहिलाको डाटाअनुसार हाराहारीमा साँढे चार सयको हलहरुको संख्या थियो । अहिले आएर १६० देखि ६५ वटा हलहरु मात्र सञ्चालनमा छन् । लगभग २८०÷८१ वटा हलहरु चाहिँ बन्द भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘बन्द हुनुको विविध कारणमध्ये दरबार हत्याकाण्डपछिको विषम परस्थिती, त्यसपछि माओवादी द्वन्द्व, त्यसपछि कोरोना महामारीका कारण सिनेमा हलहरु धेरै बन्द हुन पुगे । पहिला सुदूरपश्चिममा २१ वटा हल रहेका थिए । अहिले जम्मा एकवटा मात्र छ । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल छ । बागमती प्रदेशमा ८१ वटा हलहरु बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९ , मधेस प्रदेशमा पनि ४९ वटा हलहरु बन्द भएको अवस्था छ । यसैगरी गण्डकी प्रदेशमा ३१ वटा हलहरु बन्द रहेको अवस्था छ । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरु बन्द रहेको अवस्था छ ।’
काठमाडौँकै जय नेपाल हल, कुमारी हल, बालाजुकै गंगा हल, गोपीकृष्णका हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन् ।
देशमा हलको सङ्ख्या घट्दो छ । केही हल सशस्त्र जनयुद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए । केही हल व्यवसायको अभावमा बन्द भएका छन् त केहीलाई पछिल्लो समय आर्थिक मन्दीले पनि असर गरेको छ । नयाँ प्रविधिको विकासका कारण परम्परागत हलहरु प्रभावित भएका छन् भने मल्टिप्लेक्सहरुले राम्रो स्थान जमाएका छन् ।
बन्द हुनुको प्रत्यक्ष कारण जेसुकै भए पनि राज्यको नीति मुख्य कारक रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउनुहुन्छ । ‘हल बन्द हुनुमा राज्यको अव्यवहारिक कर, राज्यले हल व्यवसायीलाई बेवास्ता गर्नुलगायतका कारण छन्,’ महर्जनले भन्नुभयो, ‘एउटा कारण सिङ्गल थिएटरलाई मल्टिप्लेक्स बनाउने खर्च हो । जसको लागि चार करोड रुपैयाँसम्म लगानी लाग्छ । त्यो पैसा लगानी गरेर रिटर्न हुने अवस्था छैन ।’
हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफलगायत खर्च धान्न फिल्मको व्यवसायबाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उहाँले सुनाउनुभयो ।
‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याजलगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ’, महर्जनले भन्नुभयो, ‘नत्र भने एक–एक गरेर हल बन्द हुन्छन् ।’ केही महिना अगाडि काठमाडौँस्थित गोपीकृष्ण हल बन्द हुनुको कारण पनि यही रहेको महर्जनको भनाइ छ ।
यसैगरी सिनेमा हलहरु बन्द हुनुको अर्को मुख्य कारण नेपाल सरकारले लगाएको कर नै बढी भएको बताउनुभयो । उहाँले कर बढी भएका कारणले नै धेरैजसो सिनेमा हलहरु बन्द भएको बताउनुभयो । उहाँले डिजिटल प्लेटफर्महरुको परिवर्तनले पनि लगानी गर्न नसकिएको अवस्थामा पनि सिनेमा हलहरु बन्द भएको बताउनुभयो । उहाँले विगतमा सिंगल थिएटरहरुमा ऐनालगबाट सिनेमा चलाउथ्यौँ अहिले आएर डिजिटलको युग आएर अबग्रेट हुन नसकेका कारण पनि सिनेमा हलहरु बन्द हुनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘करको कुरा सबैभन्दा ठुलो कारण हो । झण्डै झण्डै सिनेमा हलहरुले ३३ प्रतिशत कर तिर्नुपर्छ । कर्पोरेट ट्याक्स बाहेक पनि सिनेमा हलहरुले धेरै कर तिर्नुपर्छ । मानौँ तीनसय रुपैयाँको टिकट काट्यौँ भने पनि सिनेमा हलमा बच्ने भनेको एक सय रुपैयाँ मात्र हो । एकसय रुपैयाँ हाम्रो करमा जान्छ, सय रुपैयाँ फिल्मले लिएर जान्छ भने एकसय रुपैयाँले मात्र हाम्रो सिनेमा हल चलाउन सकिँदैन ।’
साथै उहाँले सिनेमा हलहरुको लगानी डुब्दा सिने क्षेत्रमा धेरै असर पुगेको बताउनुभयो । उहाँले सिनेमा सञ्चालक, निर्माता र वितरकहरुलाई धेरै नै क्षति भएको बताउनुभयो ।
डिजिटल प्लेटफर्महरु आएसँगै सिंगल थ्रिटरहरु मल्टिप्लेक्समा कन्भर्ट भएपछि फिल्म देखाउन झन सहज भएको बताउनुभयो । मल्टिप्लेक्सतर्फ आर्कषण बढ्दै गएपछि सिंगल थ्रिटरहरुलाई मल्टीप्लेक्समा कन्भर्ट गर्नलाई लगानीको ठुलो आवश्यकता पर्दा पनि सिनेमा हलहरु बन्द हुनु परेको बताउनुभयो ।
छिमेकी देश भारतमा कुनै पनि प्रदर्शकले सिनेमा हलहरुलाई अबग्रेट गर्न चाँहे सरकारले सहयोग गर्छ तर त्यो अवस्था नेपालमा नभएको उहाँले गुनासो गर्नुभयो । चलचित्रमा जिएसी जम्मा पाँच प्रतिशत लिनुपर्नेमा सरकारले यो फिल्म उद्योगलाई केन्द्रमा नराखेको कारणले पनि सिनेमा हलहरु दिनहुँ बन्द हुँदै गइरेहको बताउनुभयो । उहाँले सरकारले सिनेमा क्षेत्रको विषयमा गम्भीर रुपले सोच्नुपर्ने बताउनुभयो । सिनेमा क्षेत्रमा लगानी गर्ने मान्छेलाई सरकारले साथ र सहयोग गर्नुपर्नेमा उहाँको जोड छ ।
उहाँले बारम्बार चलचित्र संघले पहल गर्दा पनि अहिलेसम्म सम्बोधन हुन नसकेको बताउनुभयो । साथै उहाँले सुरुमा चलचित्र बोर्डको गठन हुँदादेखि पनि १५ प्रतिशत मात्र कर तिनुपर्ने भनेका थियौँ तर त्यो अहिलेसम्म घट्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले बारम्बार चलचित्र विकास बोर्ड, सञ्चार, अर्थ मन्त्रालयसँग सिनेमा क्षेत्रकाबारे पहलकदमी गरिरहेका हुन्छौँ । तर, खासै अहिलेसम्म पहल भएको जस्तो लाग्दैन । अब सुरुमा चलचित्र विकास बोर्डको गठन हुँदाखेरी सिनेमा क्षेत्रमा १५ प्रतिशत कर लिने भन्ने निर्णय २०५८ सालमा गरेका थियौँ तर अहिलेसम्म करको दायरा घटाउन सकिएको छैन । यसमा धेरै पहल गर्यौँ तर त्यो सुनुवाइ भए जस्तो लागेको छैन ।’
यसैगरी उहाँले चलचित्र उद्योगलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । उहाँले निर्माणलाई उद्योग सरहको मान्यता दिए पनि प्रदर्शकलाई नदिएकोमा दुःख लागेको बताउनुभयो । यसैगरी सिनेमा हलहरु बन्द हुँदा फिल्म प्रदर्शनमा समेत समस्या आइरहेको बताउनुभयो । उहाँले सरकारले सिनेमा हलहरुको संख्या बढाएर मात्र कर बढी लिनु सान्दर्भिक हुने बताउनुभयो ।
नेपाल न्यूज बैंक